सुरुङको अन्तिम बिन्दुसम्म पुग्दा पनि भेटिएनन् मानिस, नेपाली सेनाको उद्धार टोली फर्कियो
रसुवा/ रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस फसेको आशंकामा गरिएको खोजी निष्कर्षविहीन बनेको छ।
बाढीपछि सुरुङको भित्री भागमा केही मानिस फसेको हुनसक्ने आशंकामा नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित उद्धारकर्मीहरू खोजीमा जुटेका थिए। टोलीले सुरुङको अन्तिम भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर सूक्ष्म रूपमा खोजी गरेको थियो।
खोजीका क्रममा सुरुङभित्र ड्रोनसमेत उडाएर सम्भावित मानवीय गतिविधि तथा फसेका व्यक्तिको अवस्था पत्ता लगाउने प्रयास गरिएको थियो। तर, लामो समयसम्म गरिएको खोजीका क्रममा कुनै पनि मानिस फेला परेनन्।
सुरुङको अन्तिम बिन्दुसम्म पुग्दा पनि मानवीय उपस्थिति नदेखिएपछि सुरुङभित्र कोही व्यक्ति नरहेको निष्कर्ष निकाल्दै नेपाली सेनाको उद्धार टोलीले खोजी कार्य सम्पन्न गरेको हो।
खोजी अभियान पूरा गरेपछि नेपाली सेनाको टोली रसुवाको सदरमुकाम धुन्चे फर्किएको छ। बाढीपछि सुरुङभित्र मानिस फसेको आशंकाले चिन्तित बनेकाहरूका लागि भने सेनाको खोजीपछि केही राहत मिलेको छ।




