सुरुङभित्र फसेकाको आशंकामा त्रिशूली–३ ‘बी’ मा सेनाको उद्धार प्रयास तीव्र
काठमाडौ/ रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा उद्धार तथा खोजी कार्यलाई नेपाली सेनाले तीव्रता दिएको छ।
सुरुङभित्र मानिसहरू फसेको आशंका गरिएपछि नेपाली सेनाको भैरवनाथ गण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले उद्धार तथा खोजी अभियान अघि बढाएको हो।
नेपाल सरकारको अनुमतिमा भदौ १३ गते चिनियाँ उद्धार टोली निजी हेलिकप्टरमार्फत नुवाकोटको त्रिशूली पुगेको थियो। नेपाली सेनासँग समन्वय गरी उक्त टोलीले माथिल्लो त्रिशूली–३ ‘बी’ को सुरुङ क्षेत्रको स्थलगत रेकी गरेको थियो। सोही क्रममा टोलीले रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको क्षेत्रमा समेत निरीक्षण गरेको थियो।
दुवै आयोजनाको अवस्थाबारे रेकी गरेपछि चिनियाँ टोलीले नेपाली सेनालाई वस्तुस्थितिबारे जानकारी गराएको थियो। भदौ १४ गते चिनियाँ टोली माथिल्लो त्रिशूली–१ आयोजनाको उद्धार कार्यमा केन्द्रित भएको थियो।
यता, त्रिशूली–३ ‘बी’ आयोजनाको सुरुङमा भने सोही दिनदेखि नेपाली सेनाको भैरवनाथ गणका १५ जना र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धारको प्रयास थालेको हो।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आज बिहान ९ बजे भैरवनाथ गणका थप १६ जना सैनिक सुरुङ क्षेत्रमा परिचालन भएका छन्। टोलीले सुरुङमा थुप्रिएको माटो, लेदो तथा अन्य अवरोध हटाउँदै भित्र प्रवेश गर्ने बाटो बनाउने प्रयास गरिरहेको छ।
बाढीका कारण सुरुङ क्षेत्रमा ठूलो क्षति पुगेको र भित्र मानिसहरू फसेको हुनसक्ने आशंका रहेकाले उद्धार टोलीले सम्भावित स्थानमा खोजी केन्द्रित गरेको छ। उद्धार कार्यको प्रगति भने सुरुङभित्रको भौतिक अवस्था र अवरोधका कारण चुनौतीपूर्ण बनेको छ।




