एनसीसीएस ग्रुपद्वारा रसुवा बाढीपीडितका लागि १० लाख सहयोग
काठमाडौं / रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनसीसीएस ग्रुपले १० लाख रुपैयाँ सहयोग गरेको छ।
ग्रुपअन्तर्गतका तीन शैक्षिक संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छुट्टाछुट्टै रकम जम्मा गरेका हुन्। जसअनुसार नेसनल क्रिएटिभ को–एडु स्कुलले ३ लाख, एनसीसीएस हायर सेकेन्डरी स्कुलले ३ लाख र नेसनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस)ले ४ लाख रुपैयाँ प्रदान गरेका छन्।
बाढीबाट रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावितको खोज तथा उद्धार, तत्काल राहत र पुनर्स्थापनाका लागि सहयोग आवश्यक रहेकाले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम उपलब्ध गराइएको एनसीसीएस ग्रुपले जनाएको छ।
एनसीसीएस ग्रुपले विगत साढे दुई दशकदेखि सूचना प्रविधि, व्यवस्थापन तथा व्यावसायिक शिक्षाको क्षेत्रमा योगदान गर्दै आएको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पकनाजोलस्थित एनसीसीएसले उच्च शिक्षासँगै विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता र व्यावसायिक दक्षतालाई प्राथमिकता दिँदै विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
बदलिँदो विश्व बजारका चुनौती सामना गर्न सक्ने दक्ष र सिर्जनशील जनशक्ति उत्पादनमा केन्द्रित एनसीसीएसले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको बताएको छ। पछिल्लो सहयोगलाई पनि विपद्मा परेका नागरिकप्रतिको संस्थागत सामाजिक दायित्वका रूपमा लिइएको छ।




