१४ भदौ २०८३, आइतबार

माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङसम्मको तयारी



काठमाडौं / नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरसहितको टोलीले ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाएको छ।

उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका १८ जना सशस्त्र प्रहरी र नेपाल प्रहरीका ६ जनासहित ९० जनाको संयुक्त उद्धार टोली परिचालन गरिएको छ।

प्राप्त पछिल्लो जानकारीअनुसार उद्धार टोलीले यसअघि दिउँसो २ बजे सुरुङको मुख्य भाग ‘क्राउन हेड’ मा पुगेर करिब २×३ फिटको प्वाल बनाएको थियो। उक्त प्वालबाट डोरीको सहायताले उद्धारकर्मीहरू तल झरेर सुरुङभित्र रहेका व्यक्तिलाई बोलाउँदा भने भित्रबाट कुनै प्रतिक्रिया प्राप्त हुन सकेन।

त्यसपछि उद्धार कार्यलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण प्रयोग गर्नुका साथै प्वाल फराकिलो पार्ने र आवश्यकताअनुसार ब्लास्टिङ गर्ने तयारीसमेत अघि बढाइएको छ।

सुरुङभित्रको अवस्था जोखिमपूर्ण र कठिन रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। यद्यपि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले कठिन परिस्थितिका बाबजुद उद्धार प्रयासलाई निरन्तरता दिइरहेको छ।

उद्धार टोलीले सुरुङभित्र फसेका व्यक्तिसम्म सुरक्षित रूपमा पुग्न सम्भावित सबै उपाय अपनाइरहेको जनाएको छ। अहोरात्र खटिएको संयुक्त टोलीले सुरुङमा प्रवेशका लागि थप मार्ग बनाउने तथा अवरोध हटाउने कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार