१४ भदौ २०८३, आइतबार

महासंकटमा एकताका लागि प्रधानमन्त्री बालेनलाई भट्टराईको आठ बुँदे सुझाव



काठमाडौं/ नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले देश अहिले महासंकट र महाविपत्तिको अवस्थामा रहेको भन्दै प्रधानमन्त्री बालेन शाहलाई उद्धार, राहत र पुनर्निर्माणका लागि तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

भट्टराईले आइतबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराउँदै विपत्तिको समयमा अहंकार, निषेध र प्रतिशोध त्यागेर राष्ट्रिय एकता र सहकार्यको वातावरण बनाउनुपर्ने बताएका हुन्।

उनले यस्तो अवस्थामा एकताको आह्वान र नेतृत्व प्रधानमन्त्रीले नै गर्नुपर्ने भन्दै प्रधानमन्त्री शाहलाई आफ्नो पदको ऐतिहासिक जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन्।

भट्टराईले जोखिमपूर्ण उद्धार तथा मुख्य सडक, पुललगायत ठूला संरचनाको निर्माणको जिम्मेवारी केन्द्र सरकारले लिनुपर्ने सुझाव दिएका छन्। त्यसका लागि वैदेशिक सहयोगसँगै आवश्यक जनशक्ति र उपकरणसमेत परिचालन गर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै, घाइतेको उद्धार तथा उपचार केन्द्र र प्रदेश सरकारको समन्वयमा गर्नुपर्ने र स्थानीय सरकारको समेत सहयोग लिनुपर्ने उनले बताएका छन्। यसका लागि स्वास्थ्य मन्त्रीको संयोजकत्वमा तीनै तहका सरकारका प्रतिनिधि सम्मिलित समन्वय समिति गठन गर्नुपर्ने उनको सुझाव छ।

वैकल्पिक सडक खोल्ने तथा सञ्चालनमा ल्याउने काम प्रदेश सरकारले गर्नुपर्ने र त्यसमा केन्द्र सरकारले प्रविधि तथा जनशक्ति उपलब्ध गराउनुपर्ने भट्टराईले उल्लेख गरेका छन्।

मृतकको शव पहिचान, दाहसंस्कार तथा व्यवस्थापनमा स्थानीय सरकारको सहयोग लिनुपर्ने, तत्काल आवश्यक खाद्यान्न, लत्ताकपडा र अस्थायी आवासका सामग्री संकलन तथा अभिलेखीकरणलाई एकीकृत गर्नुपर्ने उनको सुझाव छ। संकलित सामग्री वितरणको जिम्मेवारी भने स्थानीय सरकारलाई दिनुपर्ने उनले बताएका छन्।

भट्टराईले सार्वजनिक तथा निजी भौतिक सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण तत्काल संकलन गरी २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणको अवधारणाअनुसार दुई वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिनुपर्ने बताएका छन्। पुनर्निर्माणमा तीनै तहका सरकारलाई एकीकृत रूपमा परिचालन गर्नुपर्ने उनको भनाइ छ।

उनले पुनर्निर्माण कोष स्थापना गरी देश तथा विदेशबाट सहयोग आह्वान गर्नुपर्ने प्रस्तावसमेत गरेका छन्। उपयुक्त कानुन र कार्यविधि बनाएर उक्त कोषलाई पीडितको जीविकोपार्जन, शिक्षा, स्वास्थ्य र रोजगारीका साथै निजी क्षेत्रबाट निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजना, उद्योग तथा व्यवसाय पुनः सञ्चालनमा परिचालन गर्नुपर्ने उनले बताएका छन्।

भट्टराईले प्रधानमन्त्रीको अध्यक्षतामा सर्वदलीय संयन्त्र गठन गरी उद्धार, राहत तथा पुनर्निर्माणका कामको नियमित अनुगमन गर्नसमेत आग्रह गरेका छन्।

उनले विपत्तिको यो घडीमा राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय एकता र सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार