१३ भदौ २०८३, शनिबार

बाढीपहिरोबारे अगस्ट २६ मा नेपाल–चीन आकस्मिक बैठक



काठमाडौं / नेपालमा हालै भएको बाढीपहिरोको जोखिमबारे चीनले नेपाललाई समयमै पूर्वसूचना नदिएको भन्ने आरोपको चीनले खण्डन गरेको छ। नेपालस्थित चिनियाँ दूतावासले उच्च हिमाली क्षेत्रमा विपद्को जोखिम पहिचान, निगरानी र पूर्वानुमान आफैँमा जटिल विषय भएकाले सबै घटनाको पूर्वसूचना दिन सम्भव नहुने स्पष्ट पारेको हो।

दूतावासका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा हिमालय क्षेत्रमा विपद्का सम्भावित जोखिम क्षेत्र अत्यन्तै छरिएर रहेको उल्लेख छ। ४ हजारदेखि ५ हजार मिटर वा त्यसभन्दा माथिको उचाइमा ठूलो संख्यामा हिमताल तथा हिम–चट्टानका संरचना रहेकाले ती क्षेत्रमा नियमित स्थलगत निगरानी गर्न कठिन हुने चीनको भनाइ छ।

चिनियाँ तथा अन्तर्राष्ट्रिय विज्ञहरूको अनुसन्धानलाई उद्धृत गर्दै दूतावासले उच्च हिमाली क्षेत्रमा तल्लो भूभागमा जस्तो व्यापक र नियमित स्थलगत सर्वेक्षण सम्भव नभएको जनाएको छ।

ठाडो भूभागका कारण तस्बिर तथा उपग्रहबाट गरिने निगरानीमा पनि केही त्रुटि हुन सक्ने दूतावासको भनाइ छ। विशाल र जटिल हिमाली भूगोलमा उच्च सटीकताका साथ निरन्तर निगरानी गर्नु अन्तर्राष्ट्रियस्तरमै चुनौतीपूर्ण रहेको उसले जनाएको छ।

दूतावासले सन् २०१५ को विनाशकारी भूकम्पलाई समेत हिमाली क्षेत्रमा विपद्को जोखिम बढाउने महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरेको छ। २५ अप्रिल २०१५ को भूकम्पले हिमालयको दक्षिणी ढलानका चट्टानी संरचनामा प्रभाव पारेकाले हिमाली भू–संरचनाको जोखिमबारे थप अनिश्चितता सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ।

चिनियाँ विज्ञ टोलीहरूले उपलब्ध प्रविधिको सीमाभित्र रहेर जोखिमको निरन्तर निगरानी, मूल्यांकन र विश्लेषण गरिरहेको तथा महत्वपूर्ण सूचना नेपाली पक्षसँग समयमै आदानप्रदान गर्दै आएको दूतावासले दाबी गरेको छ।

सीमापार विपद् सूचना संयन्त्र बनाउन छलफल

चीनले नेपालसँग सीमापार विपद् व्यवस्थापनका क्षेत्रमा नियमित सम्पर्क र सहकार्य भइरहेको पनि जनाएको छ।

दूतावासका अनुसार गत मे महिनामा चीनको जलस्रोत मन्त्रालय र तिब्बत स्वायत्त क्षेत्रको जलस्रोत विभागका प्रतिनिधिले नेपाल भ्रमण गरेका थिए। भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग सीमापार विपद्सम्बन्धी सूचना आदानप्रदान गर्ने संयन्त्र स्थापना गर्ने विषयमा छलफल भएको थियो।

उक्त छलफलमा महत्वपूर्ण प्रगति भएको दूतावासको दाबी छ।

त्यसैगरी अगस्टमा चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत पर्वतीय जोखिम तथा वातावरण संस्थानका विज्ञहरूको टोली नेपाल आएको थियो। टोलीले वैज्ञानिक अनुसन्धान तथा प्राविधिक आदानप्रदान गर्नुका साथै हिमताल निगरानीसम्बन्धी चीनको अनुभव नेपाली पक्षसँग साझा गरेको दूतावासले जनाएको छ।

अगस्ट २६ मा नेपाल–चीन आकस्मिक बैठक

हालैको विपद्को अवस्थाबारे अगस्ट २६ मै चीनको मौसम प्रशासन र नेपालको जल तथा मौसम विज्ञान विभागबीच आकस्मिक भर्चुअल बैठक भएको दूतावासले जनाएको छ।

बैठकमा विपद्को अवस्थाबारे मूल्यांकन गर्नुका साथै सम्बन्धित तथ्यांक आदानप्रदान गरिएको थियो।

चीनले नेपालसँग जल तथा मौसमसम्बन्धी सूचना निरन्तर साझा गरिरहेको र सीमावर्ती क्षेत्रमा रहेका तालको निगरानीसम्बन्धी तथ्यांकसमेत उपलब्ध गराइरहेको जनाएको छ।

दूतावासका अनुसार चीनको मौसम प्रशासनले ‘माजु’ (MAZU) नामक बौद्धिक मौसम पूर्वसूचना प्रणालीमार्फत नेपाललाई प्रारम्भिक चरणमा अनुकूलित सेवा उपलब्ध गराउन थालेको छ।

चीनले यस्तो सहकार्यले नेपाल र चीन दुवैको सीमापार विपद् व्यवस्थापन तथा तत्काल प्रतिक्रिया क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा नेपालसँगको सहकार्यलाई चीनले महत्व दिएको दाबी गर्दै दूतावासले आगामी दिनमा दुई देशबीच सूचना आदानप्रदान, वैज्ञानिक अनुसन्धान र प्राविधिक सहकार्य अझ विस्तार हुने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार