१२ भदौ २०८३, शुक्रबार

रसुवा बाढी : ५४७ शव फेला, ९७७ अझै सम्पर्कविहीन



काठमाडौं / रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढीपछि विभिन्न आठ जिल्लामा ती शव फेला परेका हुन्।

सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। चितवनमा मात्रै २२१ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। यस्तै नवलपुरमा १३४, गोरखामा ४४, धादिङमा ४०, नुवाकोटमा ३८, तनहुँमा २९, नवलपरासीमा २८ र रसुवामा १३ जनाको शव भेटिएको छ।

बाढीमा परी अझै ९७७ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा प्रहरीतर्फ २८, नेपाली सेनातर्फ ४५, सशस्त्र प्रहरीतर्फ १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका चार जना रहेका छन्।

यस्तै रसुवा र नुवाकोटबाट मात्रै १६२ जना सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म १ हजार ४७३ जनाको उद्धार गरिएको छ। उद्धार कार्य जारी रहेकाले मृतक तथा सम्पर्कविहीनको संख्या थप बढ्न सक्ने सुरक्षा निकायले जनाएको छ।

भीषण बाढीले रसुवादेखि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। उद्धारसँगै बेपत्ताको खोजी र प्रभावित क्षेत्रमा राहत पुर्‍याउने कामलाई तीव्रता दिनुपर्ने अवस्था देखिएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार