फेरि २० लाख घनमिटर पानीको ताल, फुट्ने उच्च जोखिम
काठमाडौं / चीनको जलस्रोत मन्त्रालयले नेपालको छोछेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक ठूलो प्राकृतिक बाँधयुक्त ताल (ब्यारियर लेक) बनेको जनाएको छ। चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार बिहीबार बिहानसम्म सो तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ र पानी तालबाट बग्न थालिसकेको छ।
मन्त्रालयका अनुसार आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी तालमा थपिने अनुमान गरिएको छ। यसले ताल फुटेर एक्कासि ठूलो बाढी आउन सक्ने जोखिम बढाएको भन्दै चिनियाँ अधिकारीले अवस्थालाई उच्च जोखिमका रूपमा मूल्यांकन गरेका छन्।
चीनको जलस्रोत मन्त्रालयले तालको अवस्था निरन्तर निगरानी गरिरहेको जनाएको छ। सम्भावित ताल फुट्ने अवस्था आएमा बाढीको प्रभाव कस्तो हुन सक्छ भन्नेबारे पूर्वानुमान तथा बाढीको नमुना विश्लेषणसमेत भइरहेको छ। सम्भावित विपद्मा उद्धार तथा आपत्कालीन सहयोगका लागि आवश्यक तयारी गर्न यस्तो विश्लेषण गरिएको मन्त्रालयले जनाएको छ।
यसैबीच, नेपाल–चीन सीमाको नेपाली भूभागबाट सुरु भएको भीषण पहिरो तथा बाढीले चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको ग्याइरोङ बन्दरगाहमा ठूलो क्षति पुर्याएपछि चिनियाँ पक्षले उद्धार तथा राहत कार्य तीव्र बनाएको छ।
चिनियाँ अधिकारीका अनुसार उद्धार कार्यमा विभिन्न निकाय र टोलीलाई परिचालन गरिएको छ। चिनियाँ जनमुक्ति सेना ९पीएलए०, आपत्कालीन उद्धार टोली, इन्जिनियरिङ टोली, दूरसञ्चार कम्पनी तथा राहत संस्थाहरूले जनशक्ति, हेलिकोप्टर तथा अन्य विमान, उद्धार उपकरण र राहत सामग्रीसहित प्रभावित क्षेत्रमा परिचालन गरेका छन्।
उद्धारकर्मीले कठिन भौगोलिक अवस्था, निरन्तरको वर्षा र थप प्राकृतिक विपद्को जोखिमबीच उद्धार कार्य अघि बढाइरहेका छन्। पहिरो तथा बाढी प्रभावित क्षेत्रमा भू–भाग अस्थिर रहेकाले उद्धारमा थप चुनौती देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
बिहीबार बिहानसम्म घटनामा तीन जनाको मृत्यु पुष्टि भएको, दुई जनालाई जीवितै उद्धार गरिएको तथा ५५८ जना अझै बेपत्ता रहेको जनाइएको छ। बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको सीसीटीभीले जनाएको छ।
चिनियाँ पक्षले नेपालको भूभागमा भएको विपद्का कारण सीमावर्ती क्षेत्रमा परेको प्रभावलाई ध्यानमा राख्दै सम्भावित थप जोखिम न्यूनीकरण र उद्धारका लागि निगरानी तथा तयारीलाई उच्च प्राथमिकता दिएको जनाएको छ।
यो लिंक हेर्नुस




