११ भदौ २०८३, बिहिबार

भूकम्पपछि हिमपहिरो र पहिरोले रसुवामा विपत्ति आएको चिनियाँ राजदूतको दाबी



काठमाडौं / नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा बुधबार आएको भीषण बाढी भूकम्पपछि हिमपहिरो र पहिरोका कारण निम्तिएको प्रारम्भिक जानकारी सार्वजनिक गरेका छन्।

सरकार नियन्त्रित एनटीभी वर्ल्डसँगको अन्तर्वार्तामा राजदूत चाङले नेपालतर्फ बिहान गएको भूकम्पपछि हिमपहिरो आएको र त्यसपछि माटो तथा ढुंगासहितको पहिरो खस्दा भोटेकोशी नदी र केरुङ–रसुवागढी सीमाक्षेत्रमा ठूलो क्षति पुगेको बताएका हुन्।

उनका अनुसार प्राकृतिक विपत्तिका कारण नेपाल र चीन दुवैतर्फ मानवीय क्षति भएको छ भने केही मानिस अझै सम्पर्कविहीन छन्। विपत्तिबाट भएको क्षतिप्रति चीन दुःखी रहेको उल्लेख गर्दै उनले कठिन समयमा नेपालसँगै उभिएर आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उद्धारलाई चीनको उच्च प्राथमिकता

चिनियाँ राष्ट्रपति सी चिनफिङले विपत्तिबारे गम्भीर चासो राख्दै बेपत्ताको खोजी तथा उद्धार, जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरण र घाइतेको तत्काल उपचारलाई प्राथमिकता दिन निर्देशन दिएको राजदूत चाङले बताए।

उनका अनुसार राष्ट्रपति सीले विपद्को निरन्तर निगरानी, पूर्वसूचना प्रणाली सुदृढीकरण र वैज्ञानिक उद्धारमा जोड दिँदै सम्भावित थप विपद् रोक्नसमेत निर्देशन दिएका छन्।

बाढीपछि नेपालस्थित चिनियाँ दूतावासले आपत्कालीन प्रतिक्रिया संयन्त्र सक्रिय गरी प्रभावित क्षेत्रमा रहेका चिनियाँ नागरिक तथा व्यवसायको अवस्थाबारे जानकारी संकलन गरेको उनले बताए। नेपाली सरकार तथा सम्बन्धित निकायसँग समन्वय गर्दै उद्धारमा सहयोग गर्न घटनास्थलमा कार्यदलसमेत परिचालन गरिएको उनको भनाइ छ।

चीनतर्फको सीमावर्ती क्षेत्रमा पनि ठूलो क्षति भएको उल्लेख गर्दै राजदूत चाङले नेपालका लागि आपत्कालीन राहत सामग्री र आर्थिक सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी दिए।

उपप्रधानमन्त्री झाङ तिब्बत पुगे

विपत्तिपछि चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा राज्य परिषद्का उपप्रधानमन्त्री झाङ गुओछिङ सम्बन्धित अधिकारीसहित तिब्बत पुगेको राजदूत चाङले बताए।

उनका अनुसार झाङले उद्धार तथा विपद् व्यवस्थापनको प्रत्यक्ष अनुगमन गरिरहेका छन्। चीनको विदेश मन्त्रालय, जलस्रोत मन्त्रालय, मौसम प्रशासन, आपत्कालीन व्यवस्थापन मन्त्रालय तथा तिब्बत स्वायत्त क्षेत्रका सम्बन्धित निकायले नेपाली समकक्षीसँग समन्वय गरी क्षति मूल्यांकन, खोजी तथा उद्धारमा सहकार्य गरिरहेका छन्।

राजदूत चाङले विपत्तिको समयमा नेपाली सरकार र सम्बन्धित निकायले गरेको उद्धार तथा प्रतिकार्यको प्रशंसा गर्दै नेपाली जनताको धैर्य र साहसको पनि सराहना गरेका छन्।

पूर्वसूचना प्रणाली बलियो बनाउन जोड

भविष्यमा सीमापार प्राकृतिक विपत्तिको प्रभाव कम गर्न नेपाल र चीनबीच पूर्वतयारी, विपद् न्यूनीकरण र आपत्कालीन व्यवस्थापनमा सहकार्य थप विस्तार गर्नुपर्ने राजदूत चाङको भनाइ छ।

उनले मौसम, जलविज्ञान र भौगर्भिक विपद्सम्बन्धी सूचना आदानप्रदान तथा पूर्वसूचना प्रणालीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए। सीमापार विपद्का घटनाबारे तत्काल सूचना प्रवाह हुने संयन्त्र विकास गर्न सके प्रारम्भिक पहिचान र उद्धार प्रभावकारी बनाउन सकिने उनको भनाइ छ।

त्यस्तै, आकस्मिक अवस्थामा संयुक्त उद्धार तथा प्रतिक्रिया प्रभावकारी बनाउन सञ्चार र समन्वय संयन्त्र मजबुत बनाउनुपर्ने उनले बताए।

जनशक्ति प्रशिक्षण, प्राविधिक ज्ञान आदानप्रदान तथा आपत्कालीन राहत सामग्रीको पूर्वभण्डारणमा समेत दुई देशबीच सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे। स्थानीय तहसम्म विपद् रोकथाम, न्यूनीकरण र उद्धार क्षमता विस्तार गर्नुपर्ने उनको सुझाव छ।

नेपाल र चीन हिमाल तथा नदीले जोडिएका निकट छिमेकी भएकाले विपद्का बेला आवश्यक सहयोग र समर्थन जारी राख्ने प्रतिबद्धता पनि राजदूत चाङले व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार