१० भदौ २०८३, बुधबार

रसुवा बाढी : ९५ जनाको शव भेटियो, ६३ घाइते उपचाररत



काठमाडौं/ रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी हालसम्म ९५ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार मृतकमध्ये २७ महिला, ३७ पुरुष, ६ बालिका, ५ बालक र २० जनाको पहिचान खुल्न सकेको छैन।

प्रहरीका अनुसार रसुवामा एक पुरुषको शव फेला परेको छ। नुवाकोटमा ५ महिला र ६ पुरुष गरी ११ जनाको शव भेटिएको छ। धादिङमा ११ महिला, ५ पुरुष र पहिचान नखुलेका २ जनाको शव फेला परेको छ।

यस्तै, गोरखामा एक महिला, ४ पुरुष, एक बालक र पहिचान नखुलेका १० जनाको शव भेटिएको प्रहरीले जनाएको छ। चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक तथा पहिचान नखुलेका ८ जनाको शव फेला परेको छ।

तनहुँमा ३ पुरुष, एक बालिका र एक बालक तथा नवलपरासीपूर्वमा ८ पुरुष र ३ बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।

६३ घाइते अस्पतालमा

बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा २१, राष्ट्रिय ट्रमा सेन्टरमा ७, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा एक, रसुवा अस्पतालमा २१ र त्रिशूली अस्पतालमा १६ जना उपचाररत छन्।

त्यस्तै, नर्भिक अस्पतालमा ३ र ग्रीनसिटी अस्पतालमा एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

२८ प्रहरी सम्पर्कविहीन

बाढीपछि २८ जना प्रहरीसमेत सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार टिमुरेबाट १०, रसुवागढीबाट ८, स्याफ्रुबेँसीबाट ३, मैलुङबाट ५ तथा वेत्रावती र हाकुबाट एक–एक जना प्रहरी सम्पर्कविहीन छन्।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार