१० भदौ २०८३, बुधबार

रसुवाको पछिल्लो अपडेट : १६ जनाको मृत्यु, बेपत्ताको संख्या निक्कै धेरै हुनसक्ने




रसुवा / रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढीले जिल्लाको उत्तरी क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पुर्‍याएको छ। तिब्बततर्फबाट एक्कासि आएको बाढीले टिमुरे, स्याफ्रुबेँसी, रसुवागढीलगायतका क्षेत्रमा बस्ती, सडक, सरकारी संरचना, सुरक्षा पोस्ट तथा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको

बाढीका कारण भोटेकोशी नदी किनारका करिब दर्जन बस्ती प्रभावित भएका छन्। स्याफ्रुबेँसी, बेत्रावती, मैलुङ, सल्लेटार, शान्तिबजार, पैरेबेँसी, खाल्तीबस्ती, सोले, त्रिशूली र बट्टार क्षेत्रसम्म बाढीको प्रभाव परेको स्थानीय जनप्रतिनिधिले बताएका छन्। स्याफ्रुबेँसीलगायतका बजार क्षेत्रमा क्षति बढी भएको प्रारम्भिक विवरण छ।

बाढीले टिमुरे क्षेत्रमा खटिएका सुरक्षा निकायका संरचनामा समेत क्षति पुर्‍याएको छ। टिमुरेमा कार्यरत नौ जना सशस्त्र प्रहरी सम्पर्कविहीन रहेको पुष्टि भएको छ। इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी र रसुवागढी प्रहरी चौकीमा समेत क्षति पुगेको विवरण आएको छ।

बुधबार दिउँसोसम्म १६ जनाको मृत्यु पुष्टि भएको र २५ जनाभन्दा बढीको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। तर बाढी प्रभावित क्षेत्रमा सञ्चार तथा सडक सम्पर्क अवरुद्ध भएकाले मानवीय क्षतिको पूर्ण विवरण अझै आउन सकेको छैन।

बाढीले जलविद्युत् आयोजनाहरूमा समेत ठूलो क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ। सडक, पुल तथा अन्य पूर्वाधारमा भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ। नेपाली सेनासहितका सुरक्षा निकायले हेलिकोप्टरमार्फत खोज तथा उद्धार अघि बढाइरहेका छन्। तर कतिपय क्षेत्रमा पानीको बहाव तीव्र रहेकाले हेलिकोप्टर अवतरण र स्थलमार्गबाट उद्धारमा कठिनाइ भइरहेको छ।

यसैबीच भोटेकोशीको बाढी त्रिशूली नदीमा मिसिँदै तलतर्फ बढेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। नदी किनारमा नजान र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न भनिएको छ।

बाढीको वास्तविक कारणबारे पनि यकिन भइसकेको छैन। प्रारम्भिक सूचनामा तिब्बततर्फ पहिरोले नदी थुनेर अचानक पानीको ठूलो बहाव आएको हुन सक्ने बताइएको छ। तर सम्बन्धित निकायले यसको स्वतन्त्र पुष्टि गरिसकेको छैन। त्यसैले बाढीको कारणबारे थप अध्ययन र स्थलगत विवरण आवश्यक देखिएको छ।

सरकारले उद्धार, राहत र क्षतिको मूल्यांकनलाई तीव्र बनाएको जनाएको छ। अहिले प्राथमिकता बेपत्ता तथा सम्पर्कविहीनको खोजी, प्रभावितको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र नदी तटीय क्षेत्रमा थप क्षति रोक्नुमा केन्द्रित गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार