भोटेकोशी बाढीपीडितका लागि डब्ल्युएचओले औषधि र टेन्ट पठाउने
काठमाडौं/ रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले आवश्यक औषधि, स्वास्थ्य उपकरण र आपत्कालीन टेन्ट पठाउने भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको छलफलपछि डब्ल्युएचओले करिब एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण प्रभावित क्षेत्रमा पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, २४ वर्गमिटर क्षेत्रफलका १५ वटा आपत्कालीन टेन्टसमेत पठाइने भएको छ।
बाढी प्रभावितको उपचारका लागि सरकारले काठमाडौंस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपत्कालीन शय्या छुट्याएको छ। मन्त्रालयका अनुसार बाढीमा घाइते भएका तीन जनालाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइसकिएको छ।
आपत्कालीन स्वास्थ्य सेवा प्रभावकारी बनाउन संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स र नेपाल स्काउटसँग पनि समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
यसैबीच प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग छलफल गरी उद्धार, राहत तथा प्रभावित बस्तीको अवस्थाबारे जानकारी लिएका छन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सांसद सहभागी थिए। सांसदहरूले आ–आफ्नो क्षेत्रमा बाढीले पुर्याएको क्षति, तटीय बस्तीको अवस्था तथा उद्धार र राहतका लागि आवश्यक कदमबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
त्यसअघि प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था तथा खोज, उद्धार र राहत कार्यको प्रगतिबारे जानकारी लिएका थिए ।
प्रधानमन्त्री शाहले प्रभावित नागरिकको सुरक्षा र राहतका लागि सरकार पूर्ण प्रतिबद्धताका साथ परिचालित रहेको बताउँदै तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन र विस्थापितलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
सरकारले बाढीग्रस्त क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ।




