५ भदौ २०८३, शुक्रबार

गुम्बामा अमेरिकाको लगानी बढ्दा, प्रधानमन्त्री बालेन किन जाँदै छन् मुस्ताङ




काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र शाह मुस्ताङस्थित ‘खम्पा गुम्बा’ दर्शन गर्न गएको दाबी गरे पनि मुस्ताङमा यही नामको कुनै प्रमुख गुम्बा छैन।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक छल्दै प्रधानमन्त्री शाह शुक्रबार स्थलमार्गबाट पोखरातर्फ गएपछि उनको मुस्ताङ भ्रमणबारे चर्चा भएको थियो। सुरक्षाकर्मीको ठूलो लावालस्कर नदेखिएको विषयमा सामाजिक सञ्जालमा प्रश्न उठेपछि शाहीले निजी भ्रमणमा गुम्बा दर्शन गर्न गएको बताएका हुन्।

मुस्ताङमा ‘खम्पा गुम्बा’ नामको गुम्बा नभए पनि ‘खाम्पा’ शब्द सन् १९६० देखि १९७४ सम्म चीनविरुद्ध भएको तिब्बती खाम्पा विद्रोहसँग जोडिन्छ। त्यसबेला खाम्पा लडाकुहरूले माथिल्लो मुस्ताङ र मनाङका दुर्गम क्षेत्र तथा केही गुम्बालाई आश्रय र रणनीतिक आधारका रूपमा प्रयोग गरेका थिए।

माथिल्लो मुस्ताङमा लो घ्याकर, लुरी, जाम्पा ल्हाखाङ, थुबचेन, चोडे, चराङ, नमग्याल, कागबेनीको थुप्टेन साम्पेल लिङ, चुङ्सी र न्याफुजस्ता ऐतिहासिक गुम्बा छन्। तीमध्ये कुन गुम्बालाई शाहीले ‘खम्पा गुम्बा’ भनेका हुन् भन्ने स्पष्ट छैन।

विशेषगरी लो घ्याकर गुम्बा खाम्पा विद्रोह र तिब्बती शरणार्थीको इतिहाससँग जोडिन्छ। यसको संरक्षणका लागि अमेरिकी दूतावासमार्फत करिब दुई लाख ८५ हजार अमेरिकी डलर सहयोग भएको थियो। अमेरिकी अधिकारीहरूले पनि हालै मुस्ताङ पुगेर लो घ्याकरलगायतका गुम्बाको संरक्षण अवस्थाबारे जानकारी लिएका छन्।

लो घ्याकरको आकृति एक रुपैयाँको सिक्कामा राख्ने सरकारको निर्णयसमेत विवादमा परेको थियो। नेपालको नक्सा हटाएर गुम्बाको आकृति राख्ने निर्णयको विरोध भएपछि सरकार उक्त डिजाइनबाट पछि हटेको थियो।

यसरी ‘खम्पा गुम्बा’ भन्ने दाबीले मुस्ताङका प्राचीन बौद्ध सम्पदा मात्र होइन, खाम्पा विद्रोह, तिब्बती शरणार्थी र नेपालमा भइरहेको विदेशी संरक्षण सहयोगको संवेदनशील इतिहाससमेत चर्चामा ल्याएको छ।

राजनीतिक तथा कुटनीतिक तहमा गुम्बामा अमेरिकाको लगानी बढ्दा प्रधानमन्त्री बालेन किन जाँदै छन् मुस्ताङ भन्ने प्रश्न अहिले जताततै गर्न थालिएको छ । राजनीतिककर्मी तथा राजनीतिशास्त्रका विद्यार्थी आफ्नो उद्धेश्य नखुलाएर प्रधानमन्त्री रणनीतिक तथा बहुचाँसोको क्षेत्र मुस्ताङमा प्रधानमन्त्री जानु रहस्यमयी काम भएको बताउछन् ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार