जलविज्ञान अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा बराल
काठमाडौं/ जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी सञ्जिव बरालले सम्हालेका छन्। नवनियुक्त कार्यकारी निर्देशक बरालले बुधबार भदौ ३ गते बबरमहलस्थित केन्द्रको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।
जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्र र जल तथा मौसम विज्ञान विभागअन्तर्गतका जलविज्ञानसम्बन्धी शाखा तथा महाशाखालाई एकीकृत गरी पुनर्गठित जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत केन्द्र स्थापना गरिएको हो। केन्द्रले हाल धरान, पोखरा, कोहलपुर र अत्तरियाबाट जलविज्ञानसम्बन्धी सेवा तथा अनुसन्धानका काम अघि बढाइरहेको छ।
बरालसँग ऊर्जा तथा जलस्रोत क्षेत्रमा करिब १८ वर्षको प्रशासनिक, प्राविधिक तथा व्यवस्थापकीय अनुभव छ। यसअघि उनी जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशक र बागमती प्रदेशको सचिवका रूपमा कार्यरत थिए। बागमती प्रदेशको सचिवका रूपमा उनले १३ महिना जिम्मेवारी सम्हालेका थिए।
त्यसअघि बरालले राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनामा २६ महिना आयोजना निर्देशक तथा २० मेगावाट क्षमताको बूढीगंगा जलविद्युत् आयोजनाको प्रमुखका रूपमा नेतृत्व गरेका थिए। तत्कालीन ऊर्जा मन्त्रालयबाट इन्जिनियरका रूपमा सेवा सुरु गरेका उनले जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल), नेपाल विद्युत् प्राधिकरण र बुटवल पावर कम्पनीमा समेत काम गरिसकेका छन्।
पुल्चोक क्याम्पसबाट जलस्रोत विषयमा स्नातकोत्तर गरेका बरालले एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट एमबीए गरेका छन्। उनले सन् २०१६/१७ मा अमेरिकाको कर्नेल विश्वविद्यालयबाट ‘हबर्ट एच. हम्फ्रे फेलोसिप’समेत पूरा गरेका थिए।
प्रशासनिक जिम्मेवारीसँगै अध्ययन, लेखन र अध्यापनमा समेत सक्रिय बराल ‘सुप्रबल जनसेवा श्री’बाट विभूषित भइसकेका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ‘युवा व्यावसायिक अवार्ड–२०१२’ तथा विभागको ६६औँ वार्षिक उत्सवमा ‘उत्कृष्ट वर्ष कर्मचारी’ सम्मानसमेत उनले प्राप्त गरेका छन्। उनका ‘इन्जिनियरिङ हाइड्रोलोजी’ र ‘फन्डामेन्टल अफ हाइड्रोपावर इन्जिनियरिङ’ पुस्तक प्रकाशित छन्।
अनुसन्धान र पूर्वसूचनामा केन्द्रित हुने
जलवायु परिवर्तनका कारण बाढी, पहिरो, खडेरी, गेग्रान प्रवाह तथा हिमताल विस्फोटनजस्ता जलजन्य जोखिम बढ्दै गएको अवस्थामा केन्द्रले जलस्रोतको वैज्ञानिक तथा जोखिम संवेदनशील व्यवस्थापनलाई प्राथमिकता दिनेछ।
केन्द्रले हिमाली नदी प्रणाली, हिमनदी, भूमिगत जल तथा जलाधारको वैज्ञानिक मापन र अनुगमन गर्दै विश्वसनीय जलविज्ञान सूचना उत्पादन तथा व्यवस्थापन गर्नेछ। यसका साथै बाढी, पहिरो र बहुविपद्को वास्तविक समय पूर्वसूचना प्रणाली विकास तथा विस्तार गरी नागरिकसम्म सूचना पुर्याउने लक्ष्य राखिएको छ।
आधुनिक प्रविधिको प्रयोग, राष्ट्रिय जलस्रोत प्रयोगशालाको स्तरोन्नति, भौतिक तथा गणितीय मोडलिङ र वैज्ञानिक तालिममार्फत अनुसन्धान तथा प्राविधिक क्षमता बढाउने योजना केन्द्रको छ।
केन्द्रले २०२६–२०३१ को पाँच वर्षे रणनीतिक योजनामार्फत नेपालमा जलविज्ञान अनुसन्धानको राष्ट्रिय नेतृत्व गर्ने लक्ष्य अघि सारेको छ। सन् २०३१ सम्म केन्द्रलाई नेपालको उत्कृष्ट तथा दक्षिण एसियाकै अग्रणी वैज्ञानिक संस्थाका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य लिइएको छ।




