किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण मुद्धामा बहस जारी
काठमाडौ/ आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा बहस जारी रहेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा अहिलेसम्म टीकाराम भट्राई र शम्भु थापाले बहस गरिसक्नु भएको छ भने थप अधिवक्ताले पनि बहस गरिरहेका छन् ।
श्रेष्ठका पक्षमा अधिवक्ता गोविन्द बन्दी, रमेश बडाल, अग्नि खरेल, रामनारायण विडारीसलगायतका धेरै बरिष्ठसहितका अधिवक्ताहरु बहस गर्ने तयारीमा छन् ।
वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका श्रेष्ठलाई साउन २९ गते न्यायाधीश ढकालको एकल इजलासले श्रेष्ठ र उनका बरामद सामानसहित भदौ १ गते अदालत उपस्थित गराउन आदेश भएको थियो ।
वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित घरबाट पक्राउ गरेको थियो ।
उनको पक्राउपछि पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।




