वामपन्थी आन्दोलन कमजोर हुनुको गम्भीर समीक्षा आवश्यक
काठमाडौं/ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कम्युनिस्ट नेतृत्वकै समयमा सरकारबाट बाहिरिनुपर्ने र जनताबाट अस्वीकृत हुनुपर्ने अवस्था आउनु वामपन्थी आन्दोलनका लागि गम्भीर विषय भएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पोखरेलले विगतको यथार्थको गहिरो समीक्षा नगरी वामपन्थी आन्दोलनको पुनर्गठन सम्भव नहुने धारणा राखे । उनका अनुसार नेपालमा कम्युनिस्ट आन्दोलनले लामो राजनीतिक यात्रा तय गर्दै प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मको नेतृत्व निर्माण गरे पनि पछिल्लो अवस्थालाई सामान्य रूपमा लिन मिल्दैन ।
पोखरेलले नेपालमा कम्युनिस्ट आन्दोलनबाट हालसम्म ६ जना प्रधानमन्त्री र २१ जना मुख्यमन्त्री बनेको उल्लेख गर्दै यति ठूलो राजनीतिक प्रभाव भएको आन्दोलन कमजोर बन्नुको कारण खोजिनुपर्ने बताए । कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार हुँदा नै सत्ताबाट अपदस्थ हुनुपरेको र जनताबाट समेत बहिस्कृत हुनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।
उनले वामपन्थी आन्दोलनको वर्तमान अवस्थालाई सुधार्न विगतका कमजोरी पहिचान गरी त्यसबाट पाठ सिक्नुपर्नेमा जोड दिए । विशेषगरी जनमत किन वामपन्थी शक्तिबाट टाढिँदै गयो भन्ने विषयमा गम्भीर आत्मसमीक्षा आवश्यक रहेको उनले बताए ।
पोखरेलले प्रमुख राजनीतिक दलहरूबीच एकता र सहकार्य कायम रहेको भए पछिल्ला परिस्थितिहरू यति धेरै भड्किन नसक्ने दाबी पनि गरे । उनका अनुसार पछिल्लो निर्वाचनमा एमालेको मत माओवादीतर्फ वा माओवादीको मत एमालेतर्फ सरेको अवस्था देखिँदैन ।
त्यसैले केवल दलहरूबीचको पुनः एकीकरण वा सांगठनिक पुनर्संरचनाले मात्र वामपन्थी आन्दोलनलाई नयाँ गति दिन नसक्ने उनको निष्कर्ष थियो । जनतासँगको सम्बन्ध कमजोर हुनुका कारण पहिल्याएर त्यसअनुसार राजनीतिक तथा संगठनात्मक सुधार गर्नुपर्नेमा उनले जोड दिए ।
वामपन्थी आन्दोलनलाई पुनर्जीवित गर्न विगतको उपलब्धिमा मात्र गर्व गरेर नपुग्ने भन्दै पोखरेलले वर्तमान राजनीतिक यथार्थलाई स्वीकार गर्दै नयाँ आधारमा अघि बढ्नुपर्ने धारणा राखे ।




