२९ श्रावण २०८३, शुक्रबार

भट्टले लिए मुख्यमन्त्रीको शपथ, एमालेका चार जना सरकारमा सामेल



धनगढी, साउन २९ गते। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्टले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। भट्ट सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री बनेका छन्।

अल्पमतमा परेको तत्कालीन प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता सहकार्यको समझदारीअनुसार सुदूरपश्चिम सरकारको नेतृत्व नेकपाको भागमा परेको हो।

भट्टले शुक्रबार दिउँसो प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।

किशोरावस्थामै कम्युनिस्ट राजनीतिमा

डडेल्धुराको अजयमेरु गाउँपालिका–४, चौडीमा विसं. २०३१ पुस २ गते पिता स्व. रामदत्त भट्ट र माता गोमतीदेवी भट्टका साँहिला छोराका रूपमा जन्मिएका भट्टले कानुनतर्फ प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन्।

उनले विसं. २०४७ मा तत्कालीन नेकपा (एकता केन्द्र)को सदस्यता लिएका थिए। त्यसपछि अखिल क्रान्तिकारीको संगठन विस्तारमा सक्रिय हुँदै डडेल्धुरा, बैतडी र दार्चुलालगायतका जिल्लामा संगठनात्मक गतिविधि गरेका थिए।

माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी भट्ट २०५२ फागुन २४ गते डडेल्धुराबाट पक्राउ परेका थिए। त्यसपछि उनले १० महिना जेल जीवन बिताएका थिए। विसं. २०६० देखि तत्कालीन नेकपा (माओवादी) र हालको नेकपाको केन्द्रीय कमिटीमा रहेर उनले विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्।

जनयुद्धमा भट्टको परिवारका अन्य सदस्यसमेत भूमिगत राजनीतिमा संलग्न भएका थिए। उनका दाजु जयराज भट्ट सुरक्षाकर्मीबाट बझाङमा मारिएका थिए। उनका भाइ उमेश भट्ट, भाउजू नन्दादेवी भट्ट, श्रीमती मञ्जु बम र भाइबुहारी धर्मा बोहरा पनि पूर्णकालीन रूपमा भूमिगत भएका थिए।

भट्ट विसं. २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित भएका थिए।

देउवासँग पराजितदेखि मुख्यमन्त्रीसम्म

विसं. २०७९ को निर्वाचनमा भट्ट डडेल्धुरा प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (१) बाट प्रत्यक्ष निर्वाचित भएका थिए। त्यतिबेला कांग्रेस र तत्कालीन नेकपा (माओवादी केन्द्र)बीच चुनावी गठबन्धन थियो। गठबन्धनले प्रतिनिधिसभामा देउवा र प्रदेशसभामा भट्टलाई उम्मेदवार बनाएको थियो।

त्यस निर्वाचनका क्रममा देउवाले भट्टलाई मुख्यमन्त्री बनाउने भन्दै चुनावी अभियान सञ्चालन गरेका थिए। अहिले भने सुदूरपश्चिममा देउवाले नसके पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीको सहकार्यबाट भट्ट मुख्यमन्त्री बनेको चर्चा हुन थालेको छ।

भट्ट माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीबीचको एकीकरणबाट बनेको नेपाली कम्युनिस्ट पार्टीको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता हुन्। ५३ सदस्यीय प्रदेशसभामा नेकपाका २२ सदस्य छन्।

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री

मुख्यमन्त्री भट्टले शपथ लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनको सिफारिसमा प्रदेश प्रमुख मियाँले सत्ता साझेदार एमालेका तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन्।

एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापा सामाजिक विकासमन्त्री, प्रमुख सचेतक चक्र मल्ल आर्थिक मामिलामन्त्री र दमन भण्डारी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त भएका छन्।

त्यस्तै, जानकी ऐर बम आर्थिक मामिला राज्यमन्त्रीमा नियुक्त भएकी छन्। उनीहरूले पनि शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्।

मुख्यमन्त्री भट्टले शपथ लिए पनि उनको दल नेकपाबाट तत्काल कुनै मन्त्री नियुक्त गरिएको छैन। सत्ता सहकार्यको समझदारीअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय पाउनेछ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार