२७ श्रावण २०८३, बुधबार

एमाले बागमतीमा थपलिया दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव



काठमाडौं / नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदबाट हटाउने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ ।

एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयमा थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । पार्टीको निर्देशनअनुसार संसदीय दलको नेता परिवर्तन गर्ने तयारीस्वरूप प्रस्ताव दर्ता गरिएको एमाले स्रोतले जनाएको छ ।

‘पार्टीको निर्देशनअनुसार दलको नेता परिवर्तन गर्ने प्रक्रिया अघि बढेको हो । सोही क्रममा आज अविश्वासको प्रस्ताव दर्ता भएको छ,’ एमालेका एक नेताले बताए ।

एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले पनि थपलियाविरुद्ध अविश्वासको प्रस्ताव प्रक्रियामा गएको पुष्टि गरेका छन् । उनका अनुसार प्रस्ताव दर्ता भएको विषयमा जानकारी भए पनि विस्तृत विवरण भने आफूलाई प्राप्त भइसकेको छैन ।

थपलियालाई हटाएर किरण थापामगरलाई संसदीय दलको नेता बनाउने तयारी यसअघि नै सुरु भएको थियो । त्यसका लागि केही समयअघि प्रदेश सांसदहरूको हस्ताक्षरसमेत संकलन गरिएको थियो ।

तर, गुन्डुमा यस विषयमा छलफल भइरहेका बेला थपलिया बेहोस् भएपछि तत्काल अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रक्रिया रोकिएको थियो । पछिल्लो पटक भने पार्टी नेतृत्वको निर्देशनपछि उक्त प्रक्रिया पुनः अघि बढाइएको हो ।

अविश्वासको प्रस्तावमाथि संसदीय दलमा हुने प्रक्रिया र सांसदहरूको समर्थनका आधारमा थपलियाको राजनीतिक भविष्य टुंगो लाग्नेछ । प्रस्ताव पारित भएमा किरण थापामगरलाई नयाँ संसदीय दलको नेताका रूपमा अघि सार्ने एमालेको तयारी छ ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार