विश्वासको मतअघि नेकपाले बोलायो संसदीय दलको बैठक
धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी अघि बढाएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ ।
मुख्यमन्त्री शाहले प्रदेशसभाको बैठक भोलि साँझ ५ बजे बस्ने गरी बोलाउन सभामुख भीमबहादुर भण्डारीसमक्ष पत्र पठाएका छन् । पत्र प्रदेशसभा सचिवालयमा पुगेपछि नेकपाले पनि आफ्नो संसदीय दलको बैठक आह्वान गरेको हो ।
नेकपा संसदीय दलको बैठक भोलि दिउँसो ३ बजे बस्ने उपनेता प्रकाश रावलले जानकारी दिए । बैठकले मुख्यमन्त्री शाहले विश्वासको मत माग्दा विपक्षमा मतदान गर्ने गरी सांसदलाई ह्वीप जारी गर्ने निर्णय गर्ने तयारी गरेको छ ।
सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले गत महिना ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका हुन् । संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएपछि शाहले प्रदेशसभा बैठक आह्वानका लागि सभामुखलाई पत्र पठाएका हुन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार जोगाउन कम्तीमा २७ सांसदको समर्थन आवश्यक पर्छ । अहिले कांग्रेसका १८ सांसद शाहको पक्षमा छन् । कांग्रेस सांसद प्रकाश देउवा भने हाल अमेरिकामा रहेका छन् ।
कांग्रेसको १८ मतबाहेक सरकार जोगाउन शाहलाई थप १० सांसदको समर्थन आवश्यक पर्छ । तर, आवश्यक समर्थन जुट्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाहले प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा दिने निष्कर्षमा पुगेको कांग्रेसनिकट स्रोतको दाबी छ ।
शाहले राजीनामा दिए नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । केन्द्रमा नेकपा र एमालेबीच भएको सहमतिअनुसार सुदूरपश्चिममा नेकपा संसदीय दलका नेता खगराज भट्टलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सार्ने तयारी छ ।
यससँगै मुख्यमन्त्री शाहको विश्वासको मत परीक्षण केवल सरकारको भविष्य निर्धारण गर्ने प्रक्रिया मात्र नभई सुदूरपश्चिममा सत्ता हस्तान्तरणको औपचारिक सुरुआत बन्ने देखिएको छ ।




