५ असार २०८३, शुक्रबार

लुम्बिनीका अधिकांश नेताले दिए ओलीलाई नेतृत्व छाड्न सुझाव




बुटवल/
लुम्बिनी प्रदेशमा नेकपा (एमाले) को संगठनात्मक पुनर्गठनको माग तीव्र रूपमा उठेको छ। जिल्ला तथा प्रदेश कमिटीका अधिकांश पदाधिकारीहरूले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट बिदा लिएर पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलले कपिलवस्तुको चन्द्रौटामा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा सहभागी भएका जिल्ला र प्रदेश तहका नेतामध्ये करिब ८४ प्रतिशतले नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको पक्षमा मत दिएका हुन्।

लुम्बिनी प्रदेश विष्णु पौडेल र शंकर पोखरेलको गृह प्रदेशसमेत हो। कार्यक्रममा व्यक्त धारणा अनुसार दुवै नेताले पनि पार्टीलाई नयाँ ढंगले अघि बढाउन पुनर्गठन आवश्यक रहेको पक्षमा विचार राखेको बताइएको छ।

कार्यक्रम पार्टी सचिव छविलाल विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रदेश अध्यक्ष राधाकृष्ण कडेलले सञ्चालन गरेका थिए। कार्यक्रममा रामबहादुर थापा, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, शंकर पोखरेल र प्रदीप ज्ञवाली लगायतका नेताहरूको उपस्थिति थियो।

कार्यदलले आमन्त्रण गरेका १०९ जनामध्ये ७४ जना कार्यक्रममा उपस्थित भएका थिए। त्यसमध्ये ६८ जनाले आफ्नो धारणा राखेका थिए। पाँच जनाले वर्तमान नेतृत्वलाई निरन्तरता दिनुपर्ने मत व्यक्त गरे भने छ जनाले मध्यमार्गी धारणा राखेका थिए। बाँकी ५७ जनाले अध्यक्ष ओलीले नेतृत्वबाट अलग भएर पार्टीको पुनर्गठन प्रक्रिया अघि बढाउनुपर्ने स्पष्ट सुझाव दिएका कार्यदलका एक सदस्यले जानकारी दिए।

कार्यक्रमका सुझाव अभिलेखीकरणका लागि प्रदेश सचिव लक्ष्मण आचार्य सहित तीन सदस्यीय टिपोट समिति गठन गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार