काठमाडौंमा नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता हुँदै
काठमाडौं / नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता–२०८३ आगामी जेठ ३० र ३१ गते काठमाडौंमा हुने भएको छ ।
संघले सोमबार आयोजना गरेको पत्रकार ससम्मेलनमा प्रतियोगिता काठमाडौं महानगरपालिका–११ स्थित पहिलो पुल, हाँडीगाउँमा रहेको यमबुद्ध स्केटपार्कमा आयोजना गरिने जानकारी दिइएको थियो । प्रतियोगितामा देशभरबाट २५० पुरुष र १५० महिला गरी कुल ४०० खेलाडीको सहभागिता रहने जनाइएको छ ।
नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेलको विकास, विस्तार र प्रवर्द्धनका लागि संघले स्थापना कालदेखि नै विभिन्न जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्दै आएको जनाएको छ । यसअघि विराटनगर, बुटवल, पोखरा र काठमाडौंमा राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक सम्पन्न भइसकेका संघका अध्यक्ष अच्युत खनालले बताए ।
प्रतियोगिताको उद्घाटन शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, काठमाडौं महानगरपालिका तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा हुने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा संघका महासचिव सत्य थापाले बताए।
दुईदिने प्रतियोगितामा पहिलो दिन छनोट चरणका खेल हुनेछन् भने दोस्रो दिन उत्कृष्ट खेलाडीबीच प्रतिस्पर्धा गराइनेछ । प्रतियोगितामा स्केटबोर्डिङको ‘फ्रि स्टाइल’ विधामा प्रतिस्पर्धा हुनेछ । साथै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘बेस्ट ट्रिक’ र ‘बेस्ट रन’ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताबाट ‘स्केटबोर्डर अफ द इयर’ समेत घोषणा गरिने संघले जनाएको छ ।
पुरुष तथा महिला सिनियरतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै जुनियर पुरुष तथा महिला समूहमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका टीम अफिसियल सञ्जु श्रेष्ठले प्रतियोगिताले युवा पुस्तामाझ स्केटबोर्डिङ खेलप्रति आकर्षण बढाउने तथा राष्ट्रियस्तरमा नयाँ प्रतिभा पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।




