गेटा आँखा अस्पतालमा तालाबन्दी र विवादबारे अस्पतालको स्पष्टीकरण
धनगढी/ गेटा आँखा अस्पतालमा पछिल्लो समय स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एकपक्षीय सूचना सम्प्रेषण भएको भन्दै अस्पताल प्रशासनले आफ्नो धारणा सार्वजनिक गरेको छ। अस्पतालका सूचना अधिकारी गोविन्दप्रसाद जोशीका अनुसार अस्पतालमा भएका घटनाबारे तथ्यगत जानकारी गराउन यो स्पष्टीकरण जारी गरिएको हो।
सूचना अधिकारी जोशीले गेटा आँखा अस्पताल सन् १९८१ मा स्थापना भएको र हाल नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालन भइरहेको बताए। अस्पतालले सुदूरपश्चिम प्रदेशमा ३ वटा सेकेन्डरी आँखा अस्पताल र २६ वटा आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको तथा प्रदेशका नौवटै जिल्लामा सेवा विस्तार गरिसकेको उनको भनाइ छ।
उनका अनुसार अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये करिब ३५ प्रतिशत भारतीय नागरिक रहेका छन् भने शल्यक्रिया गराउने बिरामीमध्ये करिब ५५ प्रतिशत भारतीय हुने गरेका छन्। आर्थिक वर्ष २०८१/८२ मा अस्पताल र मातहतका संस्थाबाट दुई लाख ७९ हजार ८३३ जनाले आँखा उपचार सेवा लिएका थिए। तीमध्ये २२ हजार १५२ जनाको शल्यक्रिया गरिएको थियो।

अस्पतालले सार्वजनिक गरेको तथ्यांकअनुसार स्थापना कालदेखि २०८२ फागुनसम्म ५५ लाख ८७ हजार १३३ जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ भने सात लाख ३४ हजार २०७ जनाको मोतिबिन्दु लगायतका शल्यक्रिया गरिएको छ। यस अवधिमा २० लाख पाँच हजार ७८३ भारतीय नागरिकले सेवा लिएका र चार लाख २७ हजार ८४४ जनाको शल्यक्रिया गरिएको अस्पतालको दाबी छ।
जोशीका अनुसार हाल अस्पतालमा करिब एक दर्जन नेत्र विशेषज्ञसहित १८० जना कर्मचारी कार्यरत छन्। अस्पतालले आँखा उपचारसँगै प्राविधिक शिक्षा तथा चिकित्सकको स्नातकोत्तर तहको अध्ययनसमेत सञ्चालन गरिरहेको छ।
अस्पताल प्रशासनका अनुसार नेपाल सरकारले उपलब्ध गराएको मासिक तीन हजार रुपैयाँ महँगी भत्ता उपलब्ध नगराएको विषयलाई लिएर केही कर्मचारीले जेठ ४ गते पूर्वसूचना र स्वीकृतिबिना अस्पताल प्रमुख तथा वरिष्ठ प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका थिए। उक्त क्रममा केही कर्मचारीले अमर्यादित व्यवहार तथा धम्कीपूर्ण गतिविधि गरेको आरोप अस्पतालले लगाएको छ। नेपाल नेत्रज्योति संघको केन्द्रीय कार्यालयबाट माग सम्बोधन हुने आश्वासनपछि जेठ ७ गते तालाबन्दी खोलिएको अस्पतालको भनाइ छ।
त्यसपछि तालाबन्दीमा संलग्न केही कर्मचारीसँग स्पष्टीकरण मागिएपछि विवाद थप चर्किएको अस्पतालले जनाएको छ। जेठ १९ गते ४०–५० जनाको समूहले अस्पताल प्रशासन र व्यवस्थापन समितिका पदाधिकारीलाई घेराउ गरी अभद्र व्यवहार तथा धम्की दिएको दाबी गरिएको छ।
जेठ २० गते प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र महताको उपस्थितिमा भएको छलफलमा कर्मचारीका माग यथाशीघ्र सम्बोधन गर्ने तथा पूरा गर्न नसकिने विषय नेपाल नेत्रज्योति संघको केन्द्रीय कार्यालयमा सिफारिस गर्ने सहमति भएको अस्पतालले जनाएको छ।
सूचना अधिकारी जोशीले कर्मचारीले माग गरेअनुसार आर्थिक वर्ष २०८२/८३ को महँगी भत्ता यही महिनाको पारिश्रमिकसँगै उपलब्ध गराउने निर्णय भइसकेको जानकारी दिए। साथै संगठन तथा व्यवस्थापनसम्बन्धी बाँकी विषय केन्द्रमा पठाइने र स्वीकृत दरबन्दीअनुसार पदपूर्ति तथा बढुवा प्रक्रिया अघि बढाइने उनले बताए।
अस्पताल प्रशासनले संस्थामा कुनै अनियमितता नभएको दाबी गर्दै नेपाल नेत्रज्योति संघको प्रशासकीय कार्यसञ्चालन नियमावली–२०८० अनुसार सबै काम निष्पक्ष र पारदर्शी रूपमा भइरहेको जनाएको छ।







