१८ जेष्ठ २०८३, सोमबार

‘नेपाली समुदायले अब आफ्नो न्यायोचित स्थान पायो’ – बीसी प्रिमियर डेभिड एबी



भ्यानकुभर/ ब्रिटिस कोलम्बियाका प्रिमियर डेभिड एबीले क्यानाडाको इतिहासमै पहिलोपटक मनाइएको ‘नेपाल हेरिटेज डे’ ले नेपाली समुदायलाई देशको बहुसांस्कृतिक समाजभित्र आफ्नो न्यायोचित स्थान दिलाएको बताएका छन्।

नेपाल कल्चरल सोसाइटी अफ ब्रिटिस कोलम्बिया (एनसीएसबीसी) द्धारा मे ३० मा भ्यानकुभरमा आयोजित ऐतिहासिक समारोहलाई सम्बोधन गर्दै प्रिमियर एबीले ब्रिटिस कोलम्बिया र समग्र क्यानाडाको इतिहासमा पहिलोपटक नेपाल हेरिटेज डे मनाइनु नेपाली समुदायका लागि गौरवपूर्ण उपलब्धि भएको उल्लेख गरे। उनले नेपाली समुदायले प्रान्त र क्यानाडाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उक्त योगदानको सम्मानस्वरूप यो दिवस घोषणा गरिएको बताए।

सम्बोधनको सुरुआतमै नेपाली परिकार मःमप्रति आफ्नो रुचि व्यक्त गर्दै एबीले हल्का रमाइलो शैलीमा भने, “आज साँझ मःम खान पाइने आशा गरेको थिएँ। टेबलमा बस्नासाथ मलाई स्वादिष्ट मःम ल्याइदिइयो। नेपाल हेरिटेज डेको सुन्दर सुरुआत यहीँबाट भयो।”

प्रिमियर एबीले नेपाल र क्यानाडाबीच धेरै समानता रहेको उल्लेख गरे। उनका अनुसार दुवै देशका छिमेकी शक्तिशाली भए पनि नेपाल र क्यानाडा आफ्ना स्वतन्त्र निर्णय र स्वाधीनतामा दृढ छन्। दुवै राष्ट्रले हिमाल र अद्वितीय प्राकृतिक सम्पदा साझा गर्नुका साथै आफ्ना नागरिकहरूको उत्कृष्टतामा गर्व गर्न सक्ने अवस्था रहेको उनले बताए।

नेपाल हेरिटेज डे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणसँग जोडिएको ऐतिहासिक दिनमा परेको उल्लेख गर्दै उनले तेन्जिङ नोर्गेको ऐतिहासिक उपलब्धिको स्मरण पनि गरे।

उनले ब्रिटिस कोलम्बियामा जन्मिएका र हुर्किरहेका नयाँ पुस्ताका नेपाली क्यानेडियनहरूका लागि पनि यो दिवस विशेष महत्वको रहेको बताए। नेपाल हेरिटेज डेले नेपाली र क्यानेडियन दुवै पहिचानलाई सम्मान गर्ने तथा नेपाली भाषा, संस्कृति, परम्परा र मूल्यमान्यतालाई आगामी पुस्तासम्म हस्तान्तरण गर्न प्रेरणा दिने उनको भनाइ थियो।

“यो दिवसले नेपाली समुदायको समृद्ध संस्कृति, भाषा र परम्परालाई सम्मान गर्दछ, जुन मूल्य र पहिचान ब्रिटिस कोलम्बियामा भावी पुस्तासम्म जीवित रहनेछ,” उनले भने।

समारोहको अन्त्यमा प्रिमियर एबीले सबैलाई नेपाल हेरिटेज डेको शुभकामना व्यक्त गर्दै क्यानाडाकै पहिलो ‘नेपाल हेरिटेज डे’ को औपचारिक सरकारी घोषणापत्र नेपाल कल्चरल सोसाइटी अफ बीसीलाई हस्तान्तरण गरेका थिए। उनले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने संस्था र समुदायप्रति विशेष धन्यवाद समेत ज्ञापन गरे।

कार्यक्रम अघि पालका लागि क्यानाडास्थित राजदूत भरतराज पौड्याल, नेपाल कल्चरल सोसाइटी अफ ब्रिटिस कोलम्बिया (एनसीएसबीसी) अध्यक्ष राजु भट्टराईसंगको भेटमा पनि प्रिमियर एबीले नेपालको खनिज, वनसम्पदको उपयोग बारेमा चाँसो रोखेका थिए ।

अध्यक्ष भट्टराईका अनुसार कार्यक्रममा नेपालभर प्रचलनमा रहेका हरेक संस्कृतिका झाँकीहरु प्रस्तु भएका थिए ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार