२६ बैशाख २०८३, शनिबार

शेरबहादुर देउवालाई किन उम्मेदवार बनाइएन नेतृत्वले जवाफ दिनु पर्छ



धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक तनाव, सरकार परिवर्तनको चर्चा र नेतृत्वबीचको टकरावप्रति चिन्ता व्यक्त गरेका छन्।

नेपाली कांग्रेसको ‘जरा अभियान’ कार्यक्रममा बोल्दै उनले पार्टीभित्र विकसित घटनाक्रमले कार्यकर्ता अन्योलमा परेको उल्लेख गर्दै नेतृत्वले समयमै स्पष्ट धारणा दिनुपर्ने बताए।

मुख्यमन्त्री शाहले वर्तमान सभापति गगनकुमार थापा लाई लक्षित गर्दै पार्टीभित्र उठिरहेका विषयमा खुला बहस आवश्यक रहेको धारणा राखे। उनले विशेष गरी २३ र २४ गते शेरबहादुर देउवा र आरजु राणा देउवामाथि भएको व्यवहार स्वाभाविक राजनीतिक गतिविधि हो वा योजनाबद्ध दबाब भन्नेबारे स्पष्टता खोजे।

उनले शेरबहादुर देउवालाई किन उम्मेदवार बनाइएन नेतृत्वले स्पष्ट जवाफ दिनु पर्ने बताए ।

उनले देउवालाई आगामी निर्वाचनमा टिकट नदिने चर्चा पनि पार्टीभित्र सामान्य विषयका रूपमा लिन नमिल्ने बताए। “पार्टीका पुराना नेतृत्वलाई कसरी व्यवहार गर्ने भन्ने विषयले कांग्रेसको भविष्य निर्धारण गर्छ,” उनले भने।

शाहले कांग्रेसभित्र मतभेद हुन सक्ने भए पनि त्यसले संगठन कमजोर बन्न नहुने धारणा राख्दै एकताबद्ध भएर अघि बढ्न सबै पक्षलाई आग्रह गरे। उनका अनुसार व्यक्तिगत महत्वाकांक्षाभन्दा पार्टीको हितलाई प्राथमिकतामा राख्न सके मात्रै कांग्रेस बलियो बन्न सक्छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार