२५ बैशाख २०८३, शुक्रबार

तलबभत्तामा आफ्नै खल्तीको पैसा थपेर सामाजिक सेवामा मेयर हमाल




धनगढी / ‘राजनीति सेवा हो, पेशा होइन’ भन्ने भनाइलाई धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले व्यवहारमै प्रमाणित गरिदिएका छन्। निर्वाचन ताका नै सरकारी सेवा-सुविधा नलिने घोषणा गरेका हमालले कार्यकालको चार वर्ष पुग्नै लाग्दा आफ्नो पारिश्रमिक मात्र होइन, व्यक्तिगत तर्फबाट थप रकम समेत सामाजिक कार्यमा अर्पण गरेका छन्।

मेयर हमालले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी आफ्नो सेवा-सुविधा बापतको रकम खर्चको फेहरिस्त सार्वजनिक गरेका हुन्।

सुविधामा व्यक्तिगत ५ लाख थप
नगर प्रमुखको हैसियतमा हमालको बैंक खातामा कानुन बमोजिम हालसम्म र चालु आर्थिक वर्षको अन्त्यसम्म गरी कुल ३८ लाख ८२ हजार ८३२ रुपैयाँ जम्मा हुने देखिएको छ। तर, उनले यो सबै रकम सामाजिक सेवामा लगाउने मात्र होइन, त्यसमा आफ्नो व्यक्तिगत ५ लाख १७ हजार रुपैयाँ थपेर कुल ४४ लाख रुपैयाँ बराबरको खर्च गर्ने घोषणा गरेका छन्।

मेयर हमालको सचिवालयका अनुसार हालसम्म उनले २३ लाख ९० हजार ८७८ रुपैयाँ खर्च गरिसकेका छन् भने बाँकी रकम पनि सामाजिक क्षेत्रमै खर्च गर्ने तयारीमा छन्।

कहाँ–कहाँ भयो त खर्च?
मेयर हमालले प्राप्त रकमलाई शिक्षा, गौ–संरक्षण र असहायहरूको सेवामा केन्द्रित गरेका छन्:

निर्वाचित भएकै वर्ष प्राप्त १ लाख ३७ हजार २ सय ७३ रुपैयाँ उनले गौ संरक्षण सेवा समिति र दक्षिणकाली आधारभूत बहिरा आवासीय विद्यालयलाई प्रदान गरे।

आर्थिक वर्ष २०७९/८० मा दृष्टि फाउन्डेसन, मानव सेवा आश्रम, आमाको माया छात्राबास लगायतका संस्थामा रहेका २६९ जना आश्रितलाई २ लाख ६७ हजार ८ सय बराबरको न्यानो लुगा वितरण गरे।

शैक्षिक सुधारमा लगानी
गत आर्थिक वर्षमा ८ कक्षाको परीक्षामा शून्य नतिजा ल्याउने १७ सामुदायिक विद्यालयका ३,४८९ विद्यार्थीलाई ९ लाख ९२ हजार बराबरको शैक्षिक सामग्री दिए।

चालु आर्थिक वर्ष २०८१/८२ मा ४७ सामुदायिक विद्यालयका ७,४७५ विद्यार्थीलाई १० लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको छ।

अन्तिम वर्षको योजना
चालु आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म मेयर हमालको खातामा थप ९ लाख ३६ हजार चार सय रुपैयाँ जम्मा हुनेछ। यो रकम र उनले थप गर्ने भनेको व्यक्तिगत रकम समेत जोडेर बाँकी रहेका सामाजिक कार्यहरू सम्पन्न गरिने उनले बताएका छन्।

नेपालका जनप्रतिनिधिहरू सेवा-सुविधा र विलासितामा केन्द्रित भएको आरोप लागिरहेका बेला, धनगढीका मेयर हमालले राज्यबाट पाउने सुविधालाई जनताकै सेवामा फर्काएर नयाँ मानक स्थापित गरेका छन्। पत्रकार सम्मेलनमा उनले भने, “मैले जे बोलेको थिएँ, त्यही गरिरहेको छु। यो रकम विपन्नको शिक्षा र असहायको सेवामा खर्च गर्न पाउँदा आत्मसन्तुष्टि मिल्छ।”


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार