तीन विश्वविद्यालयबीच ऐतिहासिक सहकार्य : डिजिटल शिक्षामा नयाँ अध्याय सुरु
कञ्चनपुर/ सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरस्थित रामारोशन हलमा आज नेपालको उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ। त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय समझदारी पत्र (एमओयू) मा हस्ताक्षर सम्पन्न भएको हो।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा तीनै विश्वविद्यालयका उपकुलपतिहरूले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्याल तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले उक्त सहमतिपत्रमा हस्ताक्षर गर्दै आपसी सहकार्यलाई औपचारिकता दिएका छन्।
कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. विनोद लेखकले स्वागत मन्तव्य व्यक्त गर्दै यस समझदारीले विश्वविद्यालयहरूबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। उनले विशेषगरी उच्च प्राज्ञिक जनशक्तिको अभावलाई डिजिटल माध्यमबाट पूर्ति गर्दै दक्ष जनशक्ति व्यवस्थापनमा यो सम्झौता कोशेढुंगा सावित हुने बताए। साथै, यसले शिक्षक तथा विद्यार्थीहरूको अध्ययन र अनुसन्धान कार्यलाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
सम्झौताले तीन विश्वविद्यालयबीच शैक्षिक स्रोत, अनुसन्धान, प्रविधि र अनुभव आदानप्रदानलाई संस्थागत गर्ने लक्ष्य राखेको छ। विशेषगरी डिजिटल प्लेटफर्ममार्फत संयुक्त कक्षा सञ्चालन, अनुसन्धान सहकार्य र प्राध्यापकहरूको साझा उपयोगजस्ता कार्यक्रम अघि बढाइने जनाइएको छ।
उक्त कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका विभिन्न संकायका डीन, निर्देशक, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यो सहकार्यले नेपालको उच्च शिक्षामा गुणस्तर अभिवृद्धि, स्रोतको प्रभावकारी उपयोग तथा आधुनिक प्रविधिमा आधारित शिक्षण प्रणालीको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।




