बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा वम नियुक्त

धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा उपेन्द्र वमलाई नियुक्त गरेको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको माघ ४ गतेको निर्णयअनुसार डोटी जिल्ला बोगटानफुड्सिल गाउँपालिका – २ केदारअखडा निवासी वमलाई सो समितिको अध्यक्ष पदमा चार वर्षका लागि नियुक्त गरिएको हो।
बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति ( गठन) आदेश, २०७७ को दफा ३ को उपदफा (२) को खण्ड (क) बमोजिम अध्यक्ष पदमा नियुक्त गरिएको पत्र मन्त्रालयले जारी गरेको छ। नियुक्तिसँगै वमले गठन आदेशमा उल्लेखित सेवा–सुविधा प्राप्त गर्नेछन्।
प्रदेश सरकारले बडिकेदार क्षेत्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र व्यवस्थापनमा समितिको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरेको जनाएको छ। अध्यक्ष पदमा नियुक्त भएसँगै वमलाई मन्त्रालयले बधाई व्यक्त गर्दै कार्यकालको पूर्ण सफलताको कामना समेत गरेको छ।
सो नियुक्ति पत्रको बोधार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मुख्यमन्त्रीको निजी सचिवालय तथा समितिको कार्यालयलाई पठाइएको छ।




