ताइवानलाई हतियार बेच्ने चिनियाँ कम्पनीहरुलाई तनाव

काठमाडौ/ चीनले ताइवानलाई हतियार बेच्ने केही अमेरिकी कम्पनीको सम्पत्ति रोक्का गरेको छ भने तिनका प्रमुखलाई चीन प्रवेशमा रोक लगाएको छ । बेइजिङ्गबाट विदेश मन्त्रालयले ताइवान क्षेत्रमा हतियार आपूर्ति गर्ने २० अमेरिकी सैन्य कम्पनी र विभिन्न १० वरिष्ठ कार्यकारीविरुद्ध कठोर कदम चाल्दै प्रतिबन्धित कम्पनी र कारबाहीमा परेका कार्यकारीहरुको नाम वेबसाइटमा राखिएको छ ।
चीनको भूमि ताइवानलाई अलग्गै राखिराख्ने योजनाअन्तर्गत अमेरिकाले ठूलो परिमाणमा हतियार बिक्री गरेपछि जवाफस्वरूप त्यस्तो काममा संलग्न २० उत्पादक कम्पनी र विभिन्न कम्पनीका १० वरिष्ठ कार्यकारीविरुद्ध प्रतिकारात्मक कदम चाल्ने निर्णय भएको जनाइएको छ । चीनले भनेको छ, ‘हामी पुनः स्पष्ट गर्न चाहन्छौँ कि ताइवान मामिला हाम्रो केन्द्रीय राष्ट्रिय हितहरूको मूल केन्द्रमा रहेको विषय हो । यो चीन–अमेरिका सम्बन्धले पार गर्न नहुने पहिलो रेड लाइन पनि हो ।’
ताइवान मामिलामा उक्साहटपूर्ण कदम चाल्ने र रेड लाइन पार गर्ने कुनै पनि प्रयासलाई दृढ जवाफ दिने चेतावनी चीनले दिँदै आएको छ । भनिएको छ, ‘ताइवानलाई हतियार बेच्ने कुनै पनि कम्पनी वा व्यक्तिले आफ्नो गलत कार्यको मूल्य चुकाउनुपर्नेछ। राष्ट्रिय सार्वभौमिकता र भू–अखण्डता जोगाउने चीन सरकार र जनताको दृढ संकल्प, इच्छाशक्ति र क्षमतालाई कुनै पनि देश वा शक्तिले कहिल्यै कमजोर नआँके हुन्छ ।’
चीनले अमेरिकालाई एक–चीन सिद्धान्त र चीन–अमेरिकाबीच भएका तीन संयुक्त विज्ञप्तिको पालना गर्न पुनः स्मरण गराएको छ । अमेरिकाले जनाएको यसअघिको प्रतिबद्धताअनुसार व्यवहार गर्न, ताइवानलाई हतियार बेच्ने खतरनाक कदम तत्काल बन्द गर्न,ताइवान जलडमरू क्षेत्रको शान्ति र स्थिरता कमजोर बनाउने काम नगर्न र कथित ‘ताइवान स्वतन्त्रता’का विभाजनकारी शक्तिलाई गलत सन्देश दिन बन्द गर्न चीनले अमेरिकालाई सम्झाएको छ ।
आफ्नो राष्ट्रिय सार्वभौमिकता,सुरक्षा र भू–अखण्डताको दृढ रक्षा गर्न आवश्यक सबै निर्णायक कदम निरन्तर रूपमा चालिरहने विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । सोहीबमोजिम अमेरिकी सैन्यसामाग्री सम्बन्धित कम्पनी र वरिष्ठ कार्यकारीविरुद्ध प्रतिकारात्मक कदम चाल्ने निर्णय भएको जनाउँदै ती कम्पनी र अधिकारीहरुको नाम वेवसाइटमा राखिएको छ ।
चीनले आफ्नो मुलुकभित्र रहेका चल अचल सम्पत्ति तथा अन्य सम्पूर्ण सम्पत्ति रोक्का गर्दै प्रतिबन्ध लगाएका अमेरिकी कम्पनीहरुको संख्या २० छ । त्यस्तै,चीनभित्रका कुनै पनि संस्था वा व्यक्तिलाई ती कम्पनीसँग कारोबार, सहकार्य वा अन्य कुनै गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ ।
त्यस्तो कार्यमा संलग्न अमेरिकी कम्पनीका १० वरिष्ठ कार्यकारीविरुद्ध पनि कारबाहीस्वरुप चीनभित्र रहेका उनीहरुका चल–अचल सम्पत्ति तथा अन्य सम्पूर्ण सम्पत्ति रोक्का गरिएको छ । चीनभित्रका कुनै पनि संस्था वा व्यक्तिलाई उनीहरूसँग पनि कुनै पनि प्रकारको कारोबार वा सहकार्यमा निषेध गर्दै ती १० जनालाई चीनको मुख्य भूमि, हङकङ र मकाउ विशेष प्रशासनिक क्षेत्र प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।




