१८ मंसिर २०८२, बिहीबार

रुस–युक्रेन युद्ध रोक्न ट्रम्प प्रशासनको २८ बुँदे खाका, के–के छन् मुख्य प्रस्ताव




काठमाडौँ, मंसिर ५ गते/ रुस–युक्रेन युद्ध दीर्घकालीन गतिरोधमा पुगेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नयाँ २८ बुँदे ‘शान्ति फ्रेमवर्क’ अघि सारेको दाबी अन्तर्राष्ट्रिय समाचारमाध्यमहरूले सार्वजनिक गरेका छन्। यो प्रस्तावमा युक्रेनको सुरक्षा व्यवस्थादेखि विवादित भू–भागको पुनःव्यवस्था, सेनाको आकार घटाउने, र युक्रेनलाई नेटो बाहिर राख्ने जस्ता गम्भीर मोडेल समावेश छन्।

यद्यपि वासिङ्टनले औपचारिक रूपमा योजना घोषणा गरेको छैन। क्रेमलिनका अनुसार पुटिनलाई यसबारे कुनै जानकारी छैन भने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रारम्भिक सुझावहरूमा छलफलको तयारी देखाएका छन्। अमेरिकी डिजिटल समाचार आउटलेट एक्सियोस र फाइनान्सियल टाइम्सले यो खाका पहिलोपटक सार्वजनिक गरेका हुन्।

प्रस्तावमा के–के समावेश
ट्रम्प प्रशासनले तयार पारेको भनिएको फ्रेमवर्क चार मुख्य खण्डमा विभाजित छ—क्षेत्रीय–सैन्य व्यवस्था, सुरक्षा ग्यारेन्टी, युरोपेली स्थिरता, र दीर्घकालीन अमेरिकी भूमिका।

१ -क्षेत्रीय र सैन्य पुनःसंरचना
– क्रिमियामाथि रुसको स्थायी नियन्त्रण स्वीकार गर्ने।
– डोनबासको बाँकी क्षेत्र पनि रुसलाई सुम्पिने प्रस्ताव।
– जापोरिजिया र खेरसानमा विद्यमान ‘फ्रिज लाइन’लाई स्थायी रेखा बनाउने।
– डोनबासलाई असैन्यीकृत क्षेत्र घोषणा।
– युक्रेनी सेनाको आकार ६०५ ले घटाएर अधिकतम ४ लाखमा सीमित गर्ने।
– युक्रेनले लामो दूरीका हतियार नराख्ने र प्रयोग नगर्ने।
– युक्रेनी सेना डोनबास क्षेत्रबाट पूर्ण रूपमा फिर्ता हुने।

२ – युक्रेन तथा युरोपका लागि सुरक्षा ग्यारेन्टी
– अमेरिका युक्रेनलाई नेटो–जस्तै सुरक्षा ग्यारेन्टी दिने।
– युरोपलाई रुसी प्रभावबाट जोगाउन संयुक्त सुरक्षा संयन्त्र।
– युक्रेनले नेटोमा कहिल्यै प्रवेश नगर्ने लिखित प्रतिबद्धता।
– पश्चिमी ‘शान्ति सेना’लाई युक्रेनमा प्रवेश गर्न पूर्ण प्रतिबन्ध।
– रुसको भाषा, मिडिया र रूसी धार्मिक संस्थालाई अधिकार प्रत्याभूति।
– दुवै देशमा मिडियारशिक्षासम्बन्धी भेदभावपूर्ण प्रतिबन्ध हटाउने।
– युद्ध–अपराधसम्बन्धी मुद्दामा सामान्य माफी, रुसी अधिकारीहरूविरुद्ध मुद्दा नलगाइने।

३ – युरोपमा क्षेत्रीय स्थिरता
– युरोपेली संघ शान्ति प्रक्रियामा सहभागी हुने तर सैन्य भूमिका न्यून।
– रुस–युक्रेन सीमामा संयुक्त निगरानी संयन्त्र।
– कब्जामा परेका क्षेत्रमा रुसले मुआब्जा दिने, डोनबासमा ज्याला भुक्तानसहित।
– काला सागरमा मुक्त नेभिगेसन सुनिश्चित गर्ने।
– युद्ध अन्त्यसँगै रुसी ऊर्जा आपूर्तिमाथिको प्रतिबन्ध क्रमिक रूपमा हटाइने।
– मानवीय सहायता, शरणार्थी फिर्ती र १०० दिनभित्र युक्रेनमा चुनाव।

४ – भविष्यको अमेरिकी भूमिका
– अमेरिका–रुसबीच कूटनीतिक र आर्थिक सम्बन्ध सामान्यीकरण।
– युक्रेनलाई सैन्य होइन, आर्थिक–प्राविधिक सहयोगमा केन्द्रित सहायता।
– कतार र टर्कीलाई मध्यस्थका रूपमा अगाडि ल्याउने।
– रुसी ‘पूर्वशर्त’—तटस्थता र क्षेत्रीय मान्यता—लाई स्वीकार गर्ने।
– सहमतिपछि तात्कालिक युद्धविराम लागू।
– युद्धविरामको संयुक्त त्रिपक्षीय निगरानी आयोग।
– ५ वर्षपछि सम्झौताको औपचारिक समीक्षा।

कस्तो प्रक्रिया हुँदैछ
एक्सियोसका अनुसार अमेरिकी दूत स्टिभ विटकफले अक्टोबरमा रुसी निजी कोष ‘आरडीआईएफ’का प्रमुख किरिल दिमित्रिभसँग तीन दिनसम्म गोप्य वार्ता गरेका थिए। तर युक्रेनी अधिकारीहरूले आफूहरूलाई परामर्शमा समावेश नगरिएको आरोप लगाएका छन्।

ट्रम्प प्रशासनले यसलाई गाजा युद्धका ‘तात्कालिक युद्धविराम मोडेल’बाट प्रेरित गरिएको बताएको छ। प्रस्ताव सफल भएमा रुसलाई पूर्ण मान्यता, युक्रेनलाई सीमित सुरक्षा, र अमेरिकालाई युरोपमा नयाँ सुरक्षा–सन्तुलनकर्ता बनाउने प्रयास रहेको विश्लेषकहरूको आकलन छ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार