१८ मंसिर २०८२, बिहीबार

नीति विहीन कानुनले सुदूरपश्चिमको पर्यटन रोकिएको सरोकारवालाहरूको टिप्पणी



धनगढी, असोज २७/ सुदूरपश्चिम प्रदेशमा दीर्घकालीन नीति बिना बनाइएका ऐन तथा कानुनहरू कार्यान्वयनमा पुग्न नसकेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले स्थानीय परिस्थिति, पर्यटन सम्भावना र निजी क्षेत्रको सहभागितालाई समेट्दै नयाँ रणनीति आवश्यक रहेको औँल्याएका छन्।

आइतबार धनगढीमा सञ्चार प्रतिष्ठान नेपाल, कैलाली र युएनडीपी संसद सहयोग परियोजनाको सहकार्यमा आयोजित सुदूरपश्चिम प्रदेश पर्यटन ऐन २०७७ को समीक्षा कार्यक्रममा सहभागी विभिन्न निकायका प्रतिनिधिहरूले ऐन संशोधन र नीति निर्माणमा सरोकारवाला सहभागिता सुनिश्चित गर्न जोड दिए।

कार्यान्वयनमै नपुगेको पर्यटन ऐन
सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले पाँच वर्षअघि बनेको पर्यटन ऐन अझै कार्यान्वयनमा नआएको उल्लेख गर्दै नीति बिना ऐन बनाउँदा यस्ता समस्या उत्पन्न हुने बताए। उनका अनुसार निजी क्षेत्रलाई समेट्दै अब नयाँ पर्यटन नीति बनाइ ऐन परिमार्जन गर्न ढिला गर्नु हुँदैन।

ऐन नियमनमुखी मात्र, प्रवर्द्धनमुखी हुन सकेन
अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सदस्य शिवसिंह ओलीले पर्यटन ऐन प्रवर्द्धनभन्दा नियमनमै केन्द्रित भएको बताए। उनले यस विषयमा संसदीय समितिको सक्रिय भूमिका रहने उल्लेख गरे।

सरकारले करको भार मात्रै थोपरेको छ
प्रदेश नीति तथा योजना आयोगका सदस्य कर्णबहादुर कुँवरले ऐन बनाउने क्रममा व्यवसायी र सरोकारवालाको राय लिने अभ्यास कमजोर भएको बताए। सरकारबाट सहयोगको अपेक्षा गर्दा व्यवसायीलाई उल्टो करको बोझ मात्र परेको उनको गुनासो थियो।

व्यवसायीहरूका सुझाव खारेजी होइन, संशोधन चाहिन्छ
पर्यटन व्यवसायी प्रमोद पाठक र दिनेशराज भण्डारीले ऐन खारेज गर्नु भन्दा समयसापेक्ष संशोधन उपयुक्त हुने बताए।
होटल व्यवसायी संघ, कैलालीका पूर्व अध्यक्ष कलमबहादुर वमले ऐनलाई अधुरो र व्यवहारविहीन भन्दै यसले व्यवसायमा अवरोध पुर्‍याएको आरोप लगाए।

नेपाल पर्यटन व्यवसायी महासंघका पूर्व प्रदेश अध्यक्ष मायाप्रकाश भट्टले प्रदेशस्तरीय पर्यटन गुरुयोजना आवश्यक रहेको बताए। उनका अनुसार वर्तमान ऐनले दण्ड र नियन्त्रणमा मात्रै केन्द्रित भएकाले विकासमुखी संशोधन अविलम्ब गर्नुपर्छ।

कानुनी पक्षको विश्लेषण
अधिवक्ता कुलानन्द उपाध्यायले ऐनको संरचना, सवल र दुर्वल पक्षहरूमाथि कानुनी विश्लेषण प्रस्तुत गर्दै संशोधन गर्नुपर्ने मुख्य बुँदाहरू सुझाए।

कार्यक्रम सञ्चार प्रतिष्ठान नेपालका अध्यक्ष हेमकर्ण विकको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार