१९ मंसिर २०८२, शुक्रबार

देशको इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्री



धनगढी/ नेपालको राजनीतिकमा नयाँ अध्यायको सुरुवात भएको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमतिसँगै नेपालले पहिलोपटक महिला नेतृत्वको अनुभव गर्न लागेको हो।

शुक्रबार साँझ राष्ट्रपति कार्यालयमा प्रमुख दलहरूबीच भएको सहमतिपछि कार्कीलाई प्रधानमन्त्रीको रुपमा नियुक्त गर्ने निर्णय गरिएको छ। केहीबेरमै उनले पद तथा गोपनीयताको शपथ लिँदैछिन्।

योसँगै, इतिहास रच्ने सिलसिला पुनः कायम गर्दै देशको पहिलो महिला प्रधानमन्त्रीको रुपमा कार्की अगाडि आएकी हुन्। यसअघि उनी नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेर न्याय क्षेत्रमा एउटा माइलस्टोन कायम गरिसकेकी छिन्।

प्रधानन्यायाधीशबाट अवकाश लिएपछि करिब आठ वर्षको विश्रामपछि उनले फेरि देशको नेतृत्व सम्हाल्न लागेकी छन्। कार्की आफ्नो कडा र इमान्दार छविका कारण न्यायपालिकामा रहँदा चर्चित थिइन्।

हालैका दिनमा सामाजिक सञ्जाल बन्दको विरोधमा उठेको जेनजी आन्दोलनले देशको तीनवटै शक्ति सन्तुलनलाई हल्लाइदिएको थियो। आन्दोलन चर्किएसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले सेना प्रमुखको सल्लाहमा देशलाई संक्रमणकालीन बाटोमा अघि बढाउने उद्देश्यले अन्तरिम सरकार गठनको पहल थालेका थिए।

अब, सुशीला कार्कीको नेतृत्वमा बन्ने यो अन्तरिम सरकारले आन्दोलनपछि अस्तव्यस्त बनेको मुलुकलाई शान्तिपूर्ण रूपमा आगामी निर्वाचनसम्म लैजाने जिम्मेवारी पाएको छ। संविधानको मर्यादा र लोकतान्त्रिक मूल्यहरूलाई पुनःस्थापित गर्ने कार्यभार उनको काँधमा आएको छ।


जेनजीको आन्दोलनले गर्दा भदौ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीको पद रिक्त रहँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार