नाउपामा आन्तरिक खिचातानी: अध्यक्ष रञ्जिता बर्खास्त, नयाँ नेतृत्व चयनको तयारी

धनगढी/ नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको लामो समयदेखिको मतभेद अन्ततः निर्णायक मोडमा पुगेको छ। पार्टीको पहिलो राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दै पदमुक्त गरेको छ।
निर्णयको पूर्वसन्ध्यामा मंगलबार पार्टीको निर्वाचन तथा अनुशासन आयोगले श्रेष्ठमाथि अनुशासनहीनता र पार्टीको विधान उल्लंघन गरेको ठहर गर्दै कारबाही सिफारिस गरेको थियो। सोही आधारमा बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाले उनलाई औपचारिक रूपमा पदबाट हटाएको हो।
श्रेष्ठमाथि पार्टीको आन्तरिक प्रक्रिया नअपनाई निर्णय लिएको, बैठक नबोलाएको, विधिविपरीत कार्यवाहक तोकेको, पोखराको लिचीबारी जग्गा काण्डमा संलग्न भएको र पार्टीको संविधान मिचेको आरोप लागेको छ। यिनै आरोपलाई आधार बनाउँदै भेलाले उनलाई बर्खास्त गरेको हो।
नयाँ नेतृत्वको तयारी
श्रेष्ठलाई हटाइएपछि पार्टीभित्र नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया तीव्र गतिमा अघि बढाइएको छ। भोलि हुने विशेष बैठकमा नयाँ अध्यक्षसहित सम्पूर्ण केन्द्रीय कार्यसमिति चयन गर्ने तयारी छ।
अध्यक्षको दौडमा तीन प्रमुख नाम अगाडि छन् — रामलाल डगौरा, लालवीर चौधरी र गङ्गा चौधरी। डगौरा हाल टीकापुर नगरपालिकाका मेयर तथा निर्वाचन आयोगका अध्यक्ष हुन् भने लालवीर, संस्थापक नेता रेशम चौधरीका पिता हुन्। अर्का आकांक्षी गङ्गा चौधरी भने महाधिवेशनबाट महासचिव निर्वाचित भए पनि निर्वाचन आयोगले मान्यता नदिएको पृष्ठभूमि छ।
नयाँ संरचना
भोलिको बैठकले अध्यक्षसहित १ वरिष्ठ उपाध्यक्ष, ७ प्रदेश संयोजक, ७ उपाध्यक्ष, १ महासचिव र ७ सहमहासचिव चयन गर्ने तयारी गरेको स्रोतले जनाएको छ। पार्टीका संस्थापक रेशम चौधरी आफैंले नयाँ संरचना निर्माणका लागि निर्वाचन आयोगसँग परामर्श गरिरहेको बुझिएको छ।
नाउपाको पछिल्लो घटनाक्रमले पार्टीभित्र गहिरो सत्ता संघर्ष र संगठनात्मक अस्थिरता उजागर गरेको छ। अबको नेतृत्वले पार्टीलाई कुन दिशा दिनेछ भन्ने प्रश्नले नजिकिँदै गरेको निर्वाचनको सन्दर्भमा थप महत्व लिएको छ।




