२ श्रावण २०८२, बिहीबार

सम्राट र रचनाको आवाजमा ‘सपनामा लाग्ने, बिपनामा भाग्ने…’



लोकप्रिय गायक सम्राट चौलागाईं पुनः एकपटक संगीत संसारमा धमाकेदार रूपमा फर्कंदै छन् । उनी “सपनामा लाग्ने, बिपनामा भाग्ने…” बोलको गीतले दर्शक तथा श्रोताहरूको मन जित्न तयारी गरिरहेका छन । यो गीतमा सम्राट चौलागाईं स्वयंको स्वर, संगीत, एरेन्ज तथा मोडलिङ रहेको छ भने उनलाई स्वरमा साथ दिएकी छिन् सुमधुर स्वरकी धनी गायिका रचना रिमालले ।

छिट्टै सार्वजनिक हुने तयारीमा रहेको म्युजिक भिडियोमा सम्राटलाई साथ दिँदै छिन् एक चर्चित नायिका, जसको नाम अहिले गोप्य राखिएको छ तर भिडियोमा देखिने विशेष जोडीले स्क्रिन तताउने विश्वास गरिएको छ । भिडियो निर्माण अन्तिम चरणमा पुगेको र दर्शकले छिट्टै डिजिटल प्लेटफर्ममार्फत अवलोकन गर्न पाउने जानकारी सम्राटले दिएका छन् ।

सम्राट चौलागाईंको यसअघिका गीतहरू पनि अत्यन्त चर्चित रहँदै आएका छन् । विशेषगरी “तिमीलाई कार दिउँला सपनामा” बोलको गीतले लाखौँ दर्शक तथा श्रोताको मन जितिसकेको छ । संगीतमा अनवरत मेहनत गर्दै आएका सम्राटले यस गीतमा पनि आधुनिक प्रेमिल अनुभूति र नेपालीपन मिसाएर नयाँ स्वाद दिने प्रयास गरेका छन् ।

सम्राट भन्छन्, “यो गीत मेरो व्यक्तिगत अनुभूतिमा आधारित छ । रचनालाई साथ लिएर र चर्चित नायिकासँग काम गर्न पाउनु पनि निकै प्रेरणादायी अनुभव रह्यो ।” अबको केही दिनमै सार्वजनिक हुने गीत “सपनामा लाग्ने, बिपनामा भाग्ने” ले नेपाली संगीतप्रेमीहरूलाई नयाँ भावनाको यात्रा गराउने निश्चित देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार