१ श्रावण २०८२, बुधबार

सांसद डा. तारा जोशीको पहलमा प्रकृतिप्रेमीका आँखामा सुदूरपश्चिम कार्यक्रम आयोजना




धनगढी/
डडेल्धुराबाट निर्वाचित स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीको पहलमा मंगलबार धनगढीमा भएको प्रकृतिप्रेमीका आँखामा सुदूरपश्चिम कार्यक्रममा आयोजना भएको छ ।

सो कार्यक्रममा उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री, सचिव प्रदेश सभाका सदस्यहरु, पर्यटन व्यवसायी र नागरिक अगुवाहरुको सहभागितामा सुदूरपश्चिमको पर्यटन पर्वद्धन गर्नका लागि छलफल भएको थियो ।

सो अवसरमा अद्भूत सुन्दर प्राकृतिक क्षेत्र, जडीबुटी, देव तथा तपो भूमी र भारत र चीन जस्ता ठूलो जनसंख्या र अर्थतन्त्र भएका मुलुकसंग जोडिएर पनि सुदूरपश्चिमले फाइदा लिन नसकेकोमा चिन्ता व्यक्त गरिएको थियो ।

सो अवसरमा पर्यटन क्षेत्रको विकासमा गहिरो रुचि राख्ने क्याप्टेन बेद उप्रतीले सुदूरपश्चिमको पर्यटन विकासका लागि विभिन्न खालका उपाय सुझाएका थिए ।

उनले भने कर्णाली र मोहनामा डल्फिन सेन्टर खप्तडमा स्कि खेल्ने ठाउँ बनाएर, शुक्लाफाँटामा फरक तरिकाले बाह्रसिगे देखाएर रोजगारी सृजना गर्न सकिने सुझाव दिए । व्यवसायी ओम विष्टले समुद्रमा पाइने डल्फिन हाम्रो नदीमा भेटिन सौभाग्य भए पनि बाह्रै महिना उनीहरुलाई राख्न सक्ने वातावरण कसरी बनाउने सोच्न जरुरी भएको बताए ।

पर्यटनकर्मी गणेश मगरले पर्यटकीय क्षेत्रको प्रचारप्रसार नहुँनु, बाटो ,बस्ने ठाउँ, शौचालय, नक्सा अभाव, विदेशीलाई महंगो हवाई टिकट, फोटो, भिडियो खिच्नका लागि ड्रोन उडाउने अनुमति लिने झंझट पनि सुदूरपश्चिम क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि बाधक भएको गुनासो गरे ।

प्रदेश सभा सदस्य चक्र मल्लले खप्तड क्षेत्रको पर्यटन विकास मात्र गर्न सकियोे भने मात्र वरपरका पर्यटकीय क्षेत्रको स्भाविकरुपमा विकास हुने बताए ।

प्रकृतिप्रेमी छिन्डुम भोटेले अपि र साइपाल हिमालबाट धेरै फाइदा लिन सक्नु पर्ने धारणा राखे । केही पर्यटन व्यवसायीले विदेशीलाई हवाइ भाडा बढी हुनु पनि सुदूरपश्चिमको पर्यटन विकासको बाधक हो भनिरहेको बेला प्रकृतिप्रेमी भोटेले भने विदेशीले हवाई भाडा होइन सुरक्षाको वातावरण हेर्छन त्यसको व्यवस्था गर्न सक्नुपर्छ भने ।

कार्यक्रममा अधिकांश सहभागीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट पर्यटनलाई हटाएर अर्को मन्त्रालय बनाउनु पर्नेमा जोड दिएका थिए । प्रदेश सभा सदस्य डा. जोशी, एमालेका प्रमुख सचेतक मल्ल, पर्यटन व्यवसायी मायाप्रकाश भट्ट लगायतले अहिलेको अवस्थामै मन्त्रालय रहँदा पर्यटन क्षेत्रको विकास नहुने बताएका थिए । अलग मन्त्रालय बनाउन सकिएन भने उपसचिवको जिम्मामा पर्यटन क्षेत्र राखिनु पर्नेमा पनि केही सहभागीले जोड दिएका थिए ।

सो कार्यक्रममा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिमलाई देव भूमी, प्राकृतिक सुन्दरता, संस्कृति लगायतको क्षेत्रका रुपमा परिचित बनाउने गरेर काम गर्न जरुरी भएको बताए ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता खगराज भट्टले राजीतिज्ञ र कर्मचारीहरु योजनाका साथ जिम्मेवार र इमान्दार भए मात्र सुदूरपश्चिमको मात्र होइन मुलुकै पर्यटन विकास हुने बताए ।

वनस्पति अध्ययन केन्द्र, कैलालीका प्रमुख गंगादत्त भट्टले सुदूरपश्चिम जडीबुटी र वनस्पतिका क्षेत्रमा भर्जिन रहेको चर्चा गर्दे यसको उपयोग गर्नुपर्ने धारणा राखे ।

सो अवसरमा बोल्दै सो मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले सुदूरपश्चिम प्रदेशमा माउन्टेन फ्लाइट, केवुलकार र इको पर्यटनमा पनि ध्यान दिन जरुरी रहेको बताए ।

सो अवसरमा प्रदेशका पूर्वमन्त्रीहरु सन्तोष शर्मा थापा, अक्कल रावल, नरेश शाही, टीका थापा लगायतले सुदूरपश्चिमको पर्यटन क्षेत्रको विकासका लागि सबै जुट्नु पर्ने , सके राम्रो गर्ने नसके विगार्न नहुने धारणा राखे ।

कार्यक्रमका उठेका सवालमा जवाफ दिदै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीले पर्यटनमा केन्द्रीत रहेर विशेष काम गर्ने प्रतिवद्धता गरे ।

मन्त्री चौधरीले चाँडै विज्ञलाई पर्यटन फोकल पर्सन समेत बनाउने समेत बताए ।

उनले खप्तड, वडीमालिका, रामारोशन जस्ता पर्यटकीय क्षेत्रको विकास लागि नयाँ तरिकाले काम हुने क्रममा रहेको बताउदै कैलालीको भजनी तथा टीकापुर क्षेत्रको मोहना र कर्णाली नदीमा भेटिने डल्फिनलाई ध्यान दिएर डल्फिन पार्क बनाउन सम्भाव्यता अध्ययन गरिने बताए ।

उनले पर्यटन क्षेत्रमा प्रदेश सरकारले ध्यान दिन पर्ने बताउदै अहिलेको कुरा गर्ने हो भने मन्त्रालयसंग रहने ५५ करोड रुपियाँले पर्यटन र उघोगको पर्वद्धन गर्न कठिनाई छ भने । उनले पर्यटनमा बजेट बढाउन मुख्यमन्त्री र अर्थमन्त्रीसंग आग्रह गरिरहेको पनि बताए ।

हामीले भारत र चीनका पर्यटक ल्याउन सकेनौ भन्दै चिन्ता जाहेर गर्नु भएका मन्त्री चौधरीले भारतबाट आउने पर्यटकलाई ट्राफिक प्रहरीले दुःख दिने गरेको चर्चा गरे ।

दुईदेखि पाँच किलोमिटरपिच्छे अनावश्यक चेकजाँच गरेर ट्राफिक प्रहरीले भारतिय पर्यटकलाई दुःख दिएको बताउदै मन्त्री चौधरीले त्यस्तो ट्राफिक प्रहरी आतंक रोक्न प्रदेश प्रहरी प्रमुख र ट्राफिक हेर्नेलाई आग्रह गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार