तुर्माखाद भलिबलमा बान्नीगढी जयगढ विजयी (भिडियो सहित)

अछाम/अछामको तुर्माखाद गाउँपालिकामा भएको दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी अछामको बान्नीगढी जयगढले जितेको छ ।
जेठ २ गतेदेखि सुरु भएको खेलको अन्तिम खेलमा कनपुरको भिमदत्त नगरपालिकाको टिमलाई एकका बिरुद्ध तीन सेट जितेर बान्नीगढीजयगढ प्रथम भएको हो । खेलमा भीमदत्तनगर कञ्चनपुर दोश्रो स्थान र आयोजक तुर्माखाद गाउँपालिका अछामले तेस्रो स्थान हासिल गरेको छ ।
खेलमा प्रथम हुने बान्निगढी जयगढले दुई लाख एक हजार १११ रुपियाँ पुरस्कार प्राप्त गरेको छ । दोस्रो हुने भिमदत्तनगर कञ्चनपुरले एक लाख एक हजार १११ रुपियाँ पुरस्कार पाएको छ । यस्तै तेस्रो हुने तुर्माखाद अछामले ५१ हजार रुपियाँ पुरस्कार प्राप्त गरेको आयोजक तुर्माखाद गाउँपालिकाका अध्यक्ष डम्बर विसीले जानकारी दिए।

अछामकै ठूलो पुरस्कार राशी मानिएको उक्त खेलमा जम्मा १० टिमको सहभागिता रहेको थियो । खेलमा अछाम,कालिकोट,सुर्खेत र कञ्चनपुरका विभिन्न पालिकाले सहभागिता जनाएका थिए ।
खेलमा नेपाली सेना गोरख बक्स गण अछामका विजय गोलेलाई सर्वोत्कृष्ट खेलाडीको पुरस्कार दिइएको हो । खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका बान्निगढी जयगढका खेलाडी वसन्त कठायत, सोही टिमका हिक्मत साउद, सुनिल ठकुल्ला र भिमदत्तनगरका जित डङ्गोलले उत्कृष्ट खेलाडीको उपाधी पाएका थिए ।
बान्नीगढीजयगढका कमल कठायतलाई अनुशाशित खेलाडीको उपाधी दिइएको हो । समापन समारोहमा सुदूरपस्चिम प्रदेश सभाका पूर्व सदस्य कुन्ती जोशी र जिल्ला समन्वय समिति अछामका प्रमुख ललित कुँवरले खेलाडीलाई मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

