गायिका स्मिता दाहालको ‘आमा…’ सार्वजनिक

नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाएकी गायिका स्मिता दाहालले नयाँ भावनात्मक गीत ‘आमा…’ सार्वजनिक गरेकी छन् । विशेष रुपमा सार्वजनिक गरिएको यो गीतले आमाको माया, संघर्ष र परिवारको सम्बन्धलाई कोमल रुपमा प्रस्तुत गरेको छ ।
‘आमा…’ गीतमा स्मिता दाहालले केवल आवाज दिएकी छैनन्, उनी स्वयं प्रमुख भूमिका निर्वाह गर्दै अभिनयमा समेत चम्किएकी छन् । भिडियोमा स्मिता एक आमाको भूमिकामा प्रस्तुत भएकी छन्, जसले आफ्ना सपनालाई साकार पार्दै मातृत्वको मिठासलाई आत्मसात गरेकी छन् । उनको साथमा अभिनेता आकाश श्रेष्ठले पनि सशक्त अभिनय प्रस्तुत गरेका छन् ।
गीतको कथा तथा निर्देशन सुनील क्षेत्रीले गरेका छन् भने संगीत चेतन सापकोटाको रहेको छ । गीतलाई गोपाल रसाइलीले एरेन्ज तथा मिक्सिङ गरेका हुन् । भिडियोको छायांकन नवराज उप्रेतीले गरेका छन् भने सम्पादन र रङ संयोजन विशाल ज्ञवालीले गरेका छन् ।
स्मिता दाहालले यस गीतमार्फत मातृत्व र पारिवारिक सम्बन्धप्रतिको श्रद्धा र सम्मान दर्शाउने प्रयास गरेकी छन् । उनको मिठासपूर्ण स्वर र संवेदनशील अभिनयले गीतलाई अझै सशक्त बनाएको छ ।
‘आमा…’ गीत स्मिता दाहालको युट्युब च्यानल मार्फत मात्र हेर्न सकिनेछ । गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थालेका छन् र दर्शकहरुले स्मिताको प्रस्तुतिको खुलेर प्रशंसा गरिरहेका छन् ।
गायिका दाहालले यसअघि पनि विभिन्न भावनात्मक गीतहरु मार्फत श्रोताको मन जितेकी थिइन्, तर ‘आमा…’लाई उनले आफ्नो विशेष सिर्जना भनेकी छन् ।