बालविवाह न्यूनीकरणका लागि विद्यमान कानून कार्यान्वयनमा जोड

बालविवाह न्यूनीकरणका लागि विद्यमान कानून कार्यान्वयनमा जोड दिनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।
प्रदेशस्तरी किशोरी सञ्जालले धनगढीमा आयोजना गरेको बालविवाह विरुद्धको तीन दिने प्रदेशस्तरीय किशोरकिशोरी सम्मेलन कार्यक्रममा बोल्ने वक्ताहरूले बालविवाह न्यूनीकरणका लागि विद्यमान कानुनको कमजोर कार्यान्वयनका कारण घट्न नसकेको बताए ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले बालविवाह न्यूनीकरणका लागि प्रदेश सरकारले विभिन्न काम गर्दै आएपनि त्यो पर्याप्त हुन नसकेको बताए ।
उनले बालविवाह न्यूनीकरण गर्न सरकारको एक्लो प्रयासले मात्र सम्भव नभएकोले त्यसका लागि सामाजिक संघ÷संस्थाको भूमिका पनि महत्वपूर्ण हुने बताए ।
सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य एवं सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले विगतको सामन्तवादी समाजको प्रभाव विस्तारै हराउँदै गएको बताए ।

ऐनले अहिलेको समाज पुँजीवादी भएकोले समाजमा व्याप्त कुरुती विस्तारै हट्दै जान थालेको बताए । उनले बालविवाहका कारण शारीरिक र मानसिक असर पर्ने भएकोले त्यसको न्यूनीकरणका लागि सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने बताए ।
प्रदेशसभा सदस्य ललिता सुनारले मातृत्व स्वास्थ्य ठीक नभए बच्चाको अवस्था पनि कमजोर हुने भएकोले बालविवाह न्यूनीकरणका लागि दूरदराजका क्षेत्रमा सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताइन् ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले बालविवाहले गर्दा किशोरीहरू स्वास्थ्य र शिक्षाबाट बञ्चित हुने गरेको बताए । उनले बालविवाह न्यूनीकरण गर्न समाजमा सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए ।
लम्कीचुहा नगरपालिकाका उपप्रमुख जुना चौधरीले कानुनले नै विवाह गर्ने उमेर तोके पनि अझैं बालविवाह अन्त्य हुन नसकेको बताइन् । उनले सबैभन्दा पहिले व्यवहार परिवर्तन नै ठूलो कुरा भएको बताइन् ।
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले बालविवाह न्यूनीकरणका लागि आफ्नो पालिकाले वडास्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले जानकी गाउँपालिकाले आगामी आव २०८३ सम्म स्थानीय बालमैत्री घोषणा कार्यक्रम सञ्चालनका लागि आवश्यक तयारी अघि बढाई रहेको बताए ।
प्रदेशस्तरीय किशोरी सञ्जालका अध्यक्ष दीपिका सुनारको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका ८८ वटै पालिकाबाट किशोर किशोरीको सहभागिता रहेको छ ।