ऐश्वर्यद्वारा ३८ जना विद्यार्थीहरु छात्रवृत्ति

ऐश्वर्य विद्या निकेतनले धनगढी उपमहानगरपालिका भित्रका ३८ जना विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिमा पढाउने भएको छ ।
शनिवार विद्यालय आयोजित एक कार्यक्रममा १९ वटै वडाका वडाध्यक्षहरुले सिफारिस गरेका २ \२ जना गरी ३८ जना जेहन्दार विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिमा पढाउने गरी विद्यालय र वडाध्यक्षहरु बीच सम्झौता भएको छ । सम्झौतामा वडाध्यक्षले सिफरिस गरेको जेहन्दार विद्यार्थी हुनुपर्ने र सम्झौता एक शैक्षिक सत्रसम्म कायम रहने जनाइएको छ ।
विद्यालयका निमित्त प्राचार्य संजय कुमार पन्तले ऐश्वर्य विद्या निकेतनलाई अहिले पनि समाजले निजि विद्यालयकै रुपमा हेरेको भन्दै अब त्यो दृष्टिकोणमा परिवर्तन गरिनुपर्ने बताए । उनले ऐश्वर्य विद्या निकेतन धनगढीको मात्र नभई समग्र सुदूरपश्चिम प्रदेशकै सम्पत्ति भएकले सहयोग गरिदिन सबैलाई आग्रह गरे । धनगढी उपमहानगरपालिकाका हरेक नागरिकले ऐश्वर्य मेरो विद्यालय हो भनेर गौरव गर्ने वातावरण बनोस भनेर नै सम्पूर्ण वडाका जनप्रतिनिधि वडाध्यक्षहरुसँग भेटघाट तथा सम्झौता कार्यक्रम आयोजना गरिएको बताएका छन ।
सुदूरपश्चिम प्रदेश सभाकी सदस्य सन्तोष कुमारी शर्माले सुदूरपश्चिम प्रदेश भरीमै ठूलो विरासत बोकेको ऐश्वर्य विद्या निकेतनलाई सबैले सहयोग गर्नुपर्ने बताईन ।
ऐश्वर्य विद्या निकेतन व्यवस्थापन समति सदस्य तथा वडा न ५ का अध्यक्ष गजेन्द्र बहादुर शाहीले ऐश्वर्य विद्या निकेतनलाई सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।
ऐश्वर्य विद्या निकेतन व्यवस्थापन समितिका अध्यक्ष तथा धनगढी उपमहानगरपालिकाका पूर्व नगरप्रमुख नृप बहादुर वडको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाकी सदस्य सन्तोष कुमारी शर्मा,ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट,१९ वटै वडाका वडाध्यक्षहरु,विद्यालयका विभिन्न विभागीय प्रमुखहरु,पत्रकार महासंघ कैलालीकी अध्यक्ष श्रवण देउवा लगायतको उपस्थिति रहेको थियो । विद्यालयका शिक्षक प्रतिनिधि राजेन्द्र भट्टले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक कमल राज जोशीले गरेका थिए ।