१२ बैशाख २०८२, शुक्रबार

पत्रकार कुटपीट गर्नेलाई कडा कारवाही होस्



कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ को सिमली जंगलमा हालै देखिएका अस्वभाविक गतिविधिहरूबारे अनुमोदन दैनिकले समाचार प्रकाशन गरेको थियो । त्यही समाचार लेखेकै कारण उक्त समाचार लेख्ने पत्रकारमाथि सांघातिक हमला हुनु निन्दाको विषय हो । वैदेशिक पर्यटक नेपाल भ्रमणमा आएर मनोरञ्जन गर्नुमा हाम्रो कुनै आपत्ति छैन, तर त्यस्ता गतिविधि गर्दा समाज र नेपालको कानूनलाई ख्याल गर्नुपर्छ भन्ने हाम्रो विश्वास हो । प्रकाशित समाचारमा चित्त नबुझे विधि संवत रुपमा खण्डन गर्ने र कानुनी उपचार खोज्ने उपाय हुँदाहुँदै पनि पत्रकार प्रकाश मिश्रलाई एकान्तमा बोलाएर आक्रमण गर्नु निन्दनीय छ ।

नेपालको संविधान २०७२ र त्यसको जगमा बनेका प्रेस लगायत विभिन्न कानूनले समाचारका कारण कसैलाई डर धम्की दिने, कुटपीट गर्ने र प्रकाशन, प्रसारण बन्द गर्ने कल्पना गर्दैन । यस कारण पत्रकार कुटपीट गर्ने गराउने, पर्यटन व्यवसायी डवल शाहसहित उक्त जघन्य अपराधमा संलग्न सबैलाई हदैसम्मको कारवाहीका लागि हामी जोडदार माग गर्दछौं । जसरी कैलाली जिल्ला प्रशासनले भारत, अमेरिका, चीन, जापान लगायतका विभिन्न देशका एक सयभन्दा बढी विदेशी नागरिकहरू लाईवन क्षेत्रबाट आफ्नो गन्तव्यमा जान निर्देशन गरेको छ, त्यसैगरी ती विदेश नागरिकलाई अनुमति बिना जंगलमा बसोबास गराउने र त्यसको समाचार लेखेका कारण हमला गर्ने डवल शाहसहितलाई तत्काल पक्राउ गरी हदैसम्मको कारवाहीको दायरमा ल्याउन जरुरी छ ।

त्यसो गरिएन भने प्रेस स्वतन्त्रता फगत गफको विषय मात्र हुनेछ । विदेशीहरू अस्वभाविक रुपमा बसेको कुरा प्रहरी, प्रशासन, स्थानीय र तीनै व्यवसायी डवल शाहको कुरा राखेर समाचारमा आवश्यक पर्ने सबै विधि र अंग पुगाएर लेखिएकै हो । उक्त समाचारमा कुनै आग्रह, पूर्वाग्रह राखिएको छैन । त्यही विषय डवल शाहहरूलाई किन सह्य भएन, यो गम्भीर प्रश्न हो । अर्कोतिर, यो उनीहरू अस्वभाविक रुपमा बसेको जानकारी भएको चार दिनपछि मात्र प्रशासनले उनीहरूलाई सो ठाउँ छोड भन्नु पनि गलत छ । करिब तीन सातादेखि बस्ती छेउको जंगलमा बसरे अस्वभाविक रुपमा बस्दै आएकाको बारेमा किन प्रशासनले मौनता साध्यो ? त्यसको जवाफ प्रशासनले पनि दिनुपर्छ । पत्रकार कुटिएपछि मात्र उनीहरूबारे निर्णय लिनु संयोग हो कि नियत हो ? यसको जवाफ पनि प्रशासनले दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार