२६ माघ २०८१, शनिबार

अनेसास जर्मनीको पाचौँ साहित्यिक समारोह



फ्रान्कफर्ट/ वसन्त पञ्चमीको अवसर पारेर २०८१ माघ २० गते अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी च्याप्टरले जर्मनीको फ्राङ्कफर्टमा आफ्नो पाचौँ साहित्यिक समारोह गरेको छ ।

विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्दै सुरु गरिएको सो समारोहको अध्यक्षता च्याप्टर अध्यक्ष सुजाता घिमिरेले गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा जर्मनीका लगायत युरोपका १० मुलुकका लागि नेपालका राजदूत डा. शैल रुपखेतीको गरिमामय उपस्थिति रहेको थियो।

समारोहमा बेल्जियम, नेदरल्याण्ड लगायतका छिमेकी मुलुकहरूबाट समेत साहित्यकारहरूको सहभागिता रहेको थियो। विशेष वक्ताका रूपमा नियात्राकार जीवा लामिछाने तथा अनेसास अन्तर्राष्ट्रिय उपाध्यक्ष तथा युरोप प्रतिनिधि डिल्ली अम्माईको सहभागिता रहेको थियो। कार्यक्रममा बेल्जियम च्याप्टर महासचिव गोपाल दाहाल ले जुन २३ देखि २५ गतेसम्म बेल्जियममा आयोजना हुन गइरेको ‘कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

विमर्श, पुस्तक चर्चा, हाजिरी जवाफ र गिती प्रस्तुती समेत रहेको सो समारोहमा कार्यक्रममा जर्मनीबाट सागर फुयाल, लिलाराज कार्की, शिशिर परियार, मनोजकुमार यादव, सौरभ कारञ्जित, दिनेश प्रधान, यज्ञ अधिकारी, कृतन गौतम, सुमन सिम्खडा, हरि हुमागाईं, अजित खड्का,ईनेशराज सुवेदी, बाबुराम, मनोजबाबु पनेरु, कपिल अर्याल, लुकास लुईटेल, रविकिरण काफ्ले, सञ्जय पौडेल, विमल रानाभाट लगायत दर्जनौं कवि तथा साहित्यकारहरूले आफ्नो रचना वाचन गरेका थिए।

कार्यक्रममा रचना वाचनसँगै पुस्तक चर्चा र विमर्श समेत आयोजना गरिएको थियो । जर्मनी बसाईका अनुभवहरु समेटेर हालसालै प्रकाशित खड्ग न्यौपानेको “जर्मनीः आप्रवासन र अनुभुति” पुस्तकलाई पुस्तक चर्चा मा समावेश गरिएको थियो। सोको सहजीकरण कपिल अर्यालले गरेका थिए ।

त्यसैगरी नियात्रा लेखनको सेरोफेरोमा आयोजित विमर्शमा नियात्राकार जीवा लामिछानेले विचार व्यक्त गरेका थिए। अनेसास जर्मनीका सल्लाहाकार समेत रहेका सहजकर्ता सुवास चन्द्र सापकोटाको प्रश्नहरुको उत्तर दिने क्रममा लामिछानेले तथ्य भन्दा अनुभवहरुलाई लेखनमा प्राथमिकता दिने विचार व्यक्त गरेका थिए ।

तथ्य ईन्टरनेटमै खोजेर पाइए पनि अनुभव नितान्त मौलिक हुने भएकाले आफूलै त्यसैलाई प्राथमिका दिने कुरा उल्लेख गरेका थिए । सर्सर्ती संसार र देश देवारका लेखक लामिछानेले कार्यक्रमकै अवसरमा आफ्नो तेश्रो कृति अक्षत अन्टार्टिकाको चर्चा र पर्यटनसंगै दिगो विकास र पर्यावरणमैत्री पर्यटनको चर्चा समेत गरेकै थिए ।

कार्यक्रममा लामो समयदेखि जर्मनीमा रही नेपाली साहित्य र समुदायप्रति योगदान पुर्याए बापत अवैतनिक नेपाली महावाणिज्यदूत रामप्रताप थापालाई विशेष सम्मान गरिएको थियो भने कार्यक्रमलाई महत्वपूर्ण सहयोग गरे वापत (एनआरएनए) का पूर्व अध्यक्ष कुमार पन्त तथा होटल ट्रिप ईनलाई कदर पत्रबाट सम्मान गरिएको थियो ।

सोही क्रममा महामहिम राजदूतज्यूबाट विशेष सहयोगी तथा रचना वाचन गर्ने सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

समापनका अवसरमा बोल्दै अनेसास जर्मनी अध्यक्ष सुजाता राउतले कार्यक्रमको आयोजनाबाट प्रवासमा नेपाली साहित्यको उन्नयनमा महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गरेकी थिइन् भने सहित्यले आफ्नालागि समय नदिए पनि आफूले साहित्यको लागि सकेको समय दिएको कुरा उल्लेख गरेकी थिइन् ।

बोल्ने क्रममा सबैको साथ र सहयोगले आफ्नो नेतृत्वमा वर्षदिन भरिमै संस्थागत रुपमा शून्य साहित्यिक गतिविधीको माहोललाई चिर्दै पाँच वटा साहित्यिक समारोह सम्पन्न गर्न पाएकोमा आगामी दिनमा पनि साथ र सहयोगलाई निरन्तरता दिन अनुरोध गरिन् ।

सैयौंको संख्यामा नेपाली साहित्यप्रेमीहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको संयोजक प्रतिक्षा पोखरेल रहेकी थिइन् भने कार्यक्रमको संचालन खड्ग न्यौपाने, गौरव तिवारी र सीमा ढुंगानाले गरेका थिए । कार्यक्रमको व्यवस्थापनमा निरज सोडारी र एलिजा हुमागाईंले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार