सुदूरपश्चिम महोत्सव मङ्सिर २२ देखि पुस २ गतेसम्म आयोजना हुने
धनगढी/ कैलाली उद्योग वाणिज्य संघले मङ्सिर २२ देखि पुस २ गतेसम्म सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना गर्ने भएको छ ।
संघले प्रदेशको कृषि, व्यापार, पर्यटन, उद्योगलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ संघले २०६३ सालदेखि लगाताररुपमा सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ ।
महोत्सवमा कृषि, जडिबुटी, स्थानीय उत्पादन, अटो मोबाइल्स, होटल लगायतको गरेर पाँच सय वटा स्टल रहने संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । महोत्सव आयोजनाका लागि तीन करोड रुपियाँ खर्च हुने आयोजक संघका अध्यक्ष कुँवरले बताए । महोत्सवमा करिब १५ करोडको आर्थिक कारोबार हुने विश्वास उनको छ ।
उनले भने यस वर्ष करिब पाँच लाख दर्शकले महोत्सवको अवलोकन गर्ने छन् । उनले महोत्सव तयारीको काम ७० प्रतिशत पूरा भइसकेको पनि बताए ।
अध्यक्ष कुँवरले महोत्सव उद्घाटनका लागि संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको पनि बताए । महोत्सव उद्घाटन अवसरमा प्रमुख अतिथिलाई १० किलोको फूलको माला लगाइने आयोजकले जानकारी दिएको छ । सुरुवाती चरणमा संघले सुदूरपश्चिम प्रदेशको विकासको लागि राज्य समक्ष २१ बुँदे माग राख्दै २१ किलोको फूलको माला लगाउने गरेको थियो ।
संघका महासचिव ओम विष्टले महोत्सवको १८ औं संस्करणसम्म आइपुग्दा अप्टिकल फाइबर, सुदूरपश्चिम विश्वविद्यालय लगायतका पाँच माग पूर्ण रुपमा पूरा भएको संघका बताउदै छ वटा माग पूरा हुने क्रममा रहेको र १० वटा माग अझै पूरा हुन बाँकी रहेकोले यो पटक १० किलोको माला लगाइने भएको छ ।
गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विस्तार गर्नु पर्ने, प्रदेश प्रदर्शनी स्थल निर्माण गर्नु पर्ने, सेज स्थापना, चीनसंग जोड्ने नाका खोल्नु पर्ने, प्रदेश साँस्कृतिक संग्रहालय निर्माण लगायतको माग पूरा हुन नसकेको उद्योग वाणिज्य संघले बताउदै आएको छ ।
महोत्सवको हरेक टिकट बिक्रीबाट केही रकम सामाजिक विकासको क्षेत्रका लागि छुट्टयाइने संघका अध्यक्ष कुँवरले बताए ।
उनका अनुसार महिलाको आर्थिक सामाजिक सशक्तिकरणका लागि प्रति टिकट दुई, संघको विपद् व्यवस्थापन कोषका लागि पाँच र लागु औषध दुव्र्यसनविरुद्धको अभियानका लागि एक रुपियाँ छुट्याइने छ ।