३ आश्विन २०८१, बिहीबार

रावललाई क्रियाशील बन्न उपमहासचिव ज्ञवालीको आग्रह




धनगढी/ नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले संसदका दुई ठूला दल एमाले र नेपाली कांग्रेसको सरकार बनेपछि देशमा परिर्वनको थालनी भएको बताएका छन् ।

एमाले केन्द्रीय स्कुल विभागद्वारा आज धनगढीमा आयोजित तीनदिने जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले दुई दल मिलेपछि जनतामा आत्मविश्वास बढेको पनि बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारले जनचाहनाअनुसार काम गर्दै गएकाले जनतामा सरकारप्रति आत्मविश्वास बढेको दावी उपमहासचिव ज्ञवालीको थियो ।

उनले आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउने बताउदै त्यसका लागि सम्पूर्ण पार्टी शक्ति एकढिक्का भएर सङ्गठन निर्माणमा जुटेको बताए ।

नेता ज्ञवालीले पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावललाई पार्टीका कार्यक्रममा सहभागी भएर क्रियाशील बन्न आग्रह पनि गरे । उहाँलाई दशौँ महाधिवेशनमा उपाध्यक्षमा दोहोरिन हामीले आग्रह गर्दागर्दै पनि नमानेर अध्यक्षको उम्मेदवार बनेर अहिले जिम्मेवारी बिहिन बन्नु परेको संकेत पनि उनले गरे ।

उनले गेटा विश्वविद्यालयको विधेयक संसदमा छ त्यसको निचोड चाँडै निस्किन्छ भन्दै सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्नेमा एमालेको जोड रहेको बताए ।

केन्द्रीय स्कुल विभागद्वारा आयोजित प्रशिक्षण प्रशिक्षण कार्यक्रममा ६४ जना सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार