१६ बैशाख २०८१, आईतवार

युवा विदेशिनु रहर नभई बाध्यता हो : अधिकारकर्मी अविरल



माल्टा (यूरोप), पुस ८ गते/ देशमा रोजगारी नभएपछि युवा विदेशिनु रहर नभई बाध्यता भएको मानवअधिकारकर्मी धनराज विक अविरलले बताएका छन् ।

सुदूरपश्चिम सेवा समाज माल्टाले बुधबार माल्टामा आयोजना गरेको आप्रवासी नेपालीहरुको आत्मीयता आदानप्रदान एवम् विधान अनुमोदन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अविरलले देशको मुहार फेर्नलाई युवालाई स्वदेशमै रोजगारी दिएर सरकारले विदेश जानबाट रोक्नुपर्ने बताएका हुन् ।

जुनसुकै कारणले वैदेशिक रोजगारमा निस्कनु परेपनि आप्रवासी नेपालीहरुले देशलाई सधैं माया गर्नुपर्ने उनले बताएका थिए । वैदेशिक रोजगारमा रहेका आप्रवासी नेपालीहरुको मानवअधिकारको रक्षा र विभिन्न कारणले कानुनी समस्यामा परेका नेपालीहरुको उद्धार गर्नेकाम सरकारको भएकोले सरकार आफ्ना नागरिकको सुरक्षाको पक्षमा जिम्मेवार बन्नुपर्नेमा अविरलले जोड दिएका थिए । सिस्टम र सीपको विकास गरेर भविष्यमा आफ्नै देशमा केही गर्ने सोच राखेर हामी सबैले काम गर्नुपर्ने अविरलले बताए ।

समाजका अध्यक्ष दिपकसिंह ठगुन्नाले संस्थागत विकासको लागि सबैले मिलेर काम गर्नुपर्ने बताएका थिए । नेपालबाट सुदूरपश्चिम सेवा समाज माल्टाका लागि विधान निमार्ण गरी विधान लगायतका आवश्यक सामाग्री लेटरप्याड, सदस्यताकार्ड, नगदी रसिद्, स्टयामप्याड र ब्यानर बनाई माल्टासम्म ल्याई सहयोग गरेकोमा पत्रकार, तथा मानवअधिकारकर्मी धनराज अविरललाई समाजको तर्फबाट धन्यवाद्समेत व्यक्त गरेका थिए ।

अध्यक्ष ठगुन्नाले पत्रकार साहित्यकार मानवअधकिारमकर्मी र मनोसामाजिक परामर्शकर्ता धनराज अविरलले नोपलमा सामाजिक क्षेत्रमा सक्रिय रहेर गरेका सामाजिक योगदानका कामको प्रंशसा गरेका थिए ।

उनले भने,“सुदूरपश्चिम सेवा समाज माल्टालाई संस्थागत विकास गर्दै प्रभावकारी रुपमा अगाडि बढाउनको लागि अविरललाई आजको कार्यक्रमबाट संस्थाको प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको छ ।”

समाजका वरिष्ठ उपाध्यक्ष जनक कुँवरले अतिथिहरुलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्दै संस्थालाई उचाईमा पुगाउन अझैं राम्रा काम गर्नुपर्ने बताए । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कोषाध्यक्ष दिनेश नगरीले समाजका लागि सकारात्मक सोचराख्नु पर्ने बताए ।

त्यसैगरी सल्लाहकार सदस्य बलदेव भण्डारीले संस्थाको विकासका लागि सबै एकभई मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमस्थलमा नेपालको राष्ट्रिय झण्डा राखेर ज्ञातअज्ञात सहिदप्रति मौनधारण गर्दै नेपालको राष्ट्रिय गीत बजाएर राष्ट्रप्रति सम्मान प्रकट गरेर कार्यक्रम संचालन गरिएको थियो ।

समाजका सम्पूर्ण पदाधिकारीलाई यस समाजका सल्लाहकार संयोजक नरेन्द्र पाण्डेले विधान बमोजिम सपथ ग्रहण गराएका थिए । कार्यक्रममा कार्यसमितिका केही सदस्य फेरबदल गरिएको थियो भने विविध प्रस्तावमाथि छलफल गरी निर्णय पारित गरिएको कार्यक्रम संचालक एवम् संस्थाका महासचिब शिव विक (शिशिर) ले बताए । विभिन्न उपसमितिहरु गठन गरी आगामी कार्ययोजना समेत तयार पारी काम गर्ने विषयमा छलफल भएको उपाध्यक्ष तबिता क्षेत्रीले बताईन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार