१५ बैशाख २०८१, शनिबार

धनगढीको देउवा निवासदेखि वनदेवी मन्दिरमा यसरी मनाइयो गौरा (फोटो फिचर र भिडियो)



धनगढी/ सुदूरपश्चिम प्रदेशको प्रसिद्ध गौरा पर्व धनगढीमा रहेको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नि आरजु राणा देउवा निवासदेखि धनगढीको वनदेवी मन्दिर नजिकको क्षेत्रमा भव्यरुपमा मनाइएको छ ।

देउवा निवासमा मुख्यमन्त्री कमलबहादुर शाह, प्रतिनिधि सभा सदस्य नेतृ देउवा, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, विभिन्न पार्टी सम्वद्ध प्रदेश सभाका महिला सदस्यहरुको उपस्थिति थियो ।

महिला सदस्यहरुले नेतृ देउवासंग गौरा पर्वमा खेलिने देउडा पनि खेलेका थिए । सो कार्यक्रममा अर्की नेतृ डा. जीवन रानाको नेतृत्वमा राना समुदायको संस्कृति पनि प्रदर्शन गरिएको थियो ।

देउवा निवासमा गौराको प्रसाद पनि दिइएको थियो ।

वनदेवीमा भने वर्षा भइरहदा पनि गौराको देउडा चम्किएको थियो ।

धनगढी उपमहानगरपालिका परिसरमा महिलाका दुईवटा र पुरुषको एउटा देउडा खेल खेलिएको थियो । घरी ठूलो घरी सानो पानी परिरहँदा पनि देउडा खेल्ने र हेर्ने दर्शकको कमी भएको थिएन ।

आज दर्बाष्टमीको दिन पूजा आराधना सकेर देउडा खेलमा महिला ,पुरुषहरु रमाइरहेका छन् ।

हिजो गौरादेवीमा चढाएको दुबोधागो आज महिलाहरुले धारण गर्ने गर्दछन् । पुरुषहरुले जनै धारण गरेजस्तै पश्चिम नेपालमा महिलाहरुले दुबोधागो धारण गर्ने गर्दछन् ।

गौराघरबाट गौरालाई सिंगारेर गौराखलामा लग्ने गरिन्छ । सोही अवसरमा महिलाहरुले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन रही आएको छ ।

सुदूरपश्चिम क्षेत्रमा गौराको उत्पत्ति, महेश्वरसंगको विवाह लगायतका प्रसंग ब्रतालु महिलाहरुले फाग मार्फत नै भन्ने गरेका छन् । ब्रतालु महिलाहरुले गौराको पूजा गरिसकेपछि मुख्य प्रसादको रुपमा रहेको बिरुडाले आफ्ना श्रीमान, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दै टाउको पुज्ने चलन छ ।

पुरुषहरुले ठाँडोखेल, ढुस्को धमारी लगायतका ऐतिहासिक संस्कृतिमा आधारित खेलहरु खेल्ने गर्दछन् । महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसि पूजाआजा गर्ने गर्छन ।

सुदूरपश्चिमका अधिकांश क्षेत्रमा भदौ ४ गतेदेखि गौरा शुरु भइसकेको छ भने केही स्थानमा भदौ १८ गतेदेखि गौरा मनाउने तयारी भइरहेको छ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले भने गत पुस २५ गते नै भदौ ७ गते गौरा पर्व मनाउने गरेर स्वीकृति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार