१४ बैशाख २०८१, शुक्रबार

भुटानी शरणार्थी काण्डमा मुछिएका रायमाझी पक्राउ



काठमाडौं / नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा सामेल भएको आरोप लागेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरी उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

रायमाझीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।

रायमाझी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ परेकाहरुले रायमाझी संलग्न रहेको बयान दिएपछि प्रहरीको आग्रहमा जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्वमन्त्री खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित १२ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार