१३ बैशाख २०८१, बिहीबार

सात महिनामा क्षयरोगबाट ६१ को मृत्यु



धनगढी/ सुदूरपश्चिम प्रदेशमा पछिल्लो सात महिनामा क्षयरोगबाट ६१ जनाको मृत्यु भएको छ । कैलालीमा मात्रै क्षयरोगबाट २३ जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, कैलालीद्वारा विश्व क्षयरोगका अवसरमा बिहीबार धनगढीमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय, क्षय तथा कुष्टरोग अधिकृत मनोज ओझाले चालु आर्थिक वर्ष २०७९/०८० को फागुन महिनासम्म प्रदेशमा क्षयरोगबाट ६१ जनाको निधन भएको बताए ।

जिल्ला स्वास्थ्य कार्यालय, कैलालीका प्रमुख लालबहादुर धामीका अनुसार प्रदेशमा हरेक वर्ष चैतदेखि असारसम्म क्षयरोगीको संख्या बढ्ने गरेको छ ।

नेपालको तुलनामा भारतमा क्षयरोगीको संख्या अधिक रहेको बताइन्छ । तर प्रतिशतका हिसावले नेपालमा क्षयरोगीको संख्या बढी छ । नेपालमा ४५ प्रतिशत जनसंख्यामा क्षयरोगको संक्रमण दर रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७७÷०७८ मा एक सय चार र आर्थिक वर्ष २०७८÷०८९ मा एक सय १९ जनाको मृत्यु भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका कैलालीका प्रमुख धामीले क्षयरोगीहरुमध्ये कतिपयको पत्ता नलाग्ने, कतिपय सम्पर्कमै आउन नमान्ने, कतिपय चेकजाँचको पहुँचमै नहुने र पत्ता लागेकाहरुले पनि नियमित औषधि नखाने समस्या रहेको बताए ।

सुदूरपश्चिममा यो आर्थिक वर्षको सात महिनामा एक हजार आठ सय क्षयरोगी भेटिएका छन् । त्यसअघि २०७७/०७८ मा दुई हजार आठ सय र २०७८/०८९ मा दुई हजार ४३४ जना क्षयरोगी भेटिएका थिए ।

यस्तै गरेर कैलालीमा गत आर्थिक वर्षमा एक हजार ४३३ जना क्षयरोगी भेटिएकोमा यो आर्थिक वर्षको सात महिनामा ७५३ जना क्षयरोगी भेटिएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

सुदूरपश्चिममा हरेक वर्ष छ हजार पाँच सय र कैलालीमा दुई हजार एक सय क्षयरोगी पत्ता लगाउने लक्ष्य लिने गरिएको छ ।
नेपाल सरकारले क्षयरोगलाई प्रमुख जनस्वास्थ्य समस्या मानेको छ । त्यसैले सन् २०३५ सम्ममा जनस्वास्थ्य समस्याका रुपमा क्षयरोगलाई नमान्ने गरेर काम गर्ने लक्ष्य लिएको छ । भने सन् २०५० सम्म १० लाख जनामा एक जनामा क्षयरोग सीमित गर्ने उद्धेश्य राखिएको छ ।

क्षयरोग पत्ता लागेको कारण २४ मार्चलाई संसारभर क्षयरोग दिवस मान्ने गरिन्छ । नेपालमा पनि हो, हामी क्षयरोग अन्त्य गर्छो भन्दै क्षयरोग दिवस मनाइदै छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार