१४ बैशाख २०८१, शुक्रबार

युवाको पढाइ चौपट, मार्कसिट ग्लोबलका प्रतिनीधिका नियन्त्रणमा



टीकापुर/ ग्लोबल ओरियन्स नेपालका प्रतिनिधिहरुले मा सम्पर्कमा आएका युवालाई प्रलोभन र दवाव दिनुका साथै कागजातहरु पनि नियन्त्रणमा राखेको पाइएको छ ।

प्रहरीले कारवाही अगाडि बढाएपछि युवाले आफ्ना समस्या खोल्न थालेका छन् । ग्लोबलमा जोडिएका युवाहरुलाई दुई दिनको तालिम दिने, तालिम दिएपछि होस्टेलमा राखेर दिमाग भुटने, घरबाट पैसा माग्न लगाउने र पैसा पाइसकेपछि विरोध गर्नेका नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रहरु जफत गरेर यातना दिन शुरु गरेको उनीहरुले बताएका छन् ।

सुर्खेत बराहतालका टोपबहादुर मस्र्याङगी कक्षा १२ मा पढ्दै र कम्प्यूटर सिक्दै हुनुहुन्थ्यो । फेसबुकमा बनेको साथीले टीकापुरमा दुई जना कर्मचारी चाहिएको छ मासिक २२ हजार तलब पाइन्छ आउनुप¥यो भनेर बोलाए । तलबै पाइने भनेपछि टीकापुर पुगेका टोपबहादुरलाई तीन सय रुपियाँको फर्म भर्न लगाए र दुई हजार तिरेपछि होस्टेल सुविधा पाइन्छ भनेपछि त्यसै गरे ।

टोपबहादुर भन्नुहुन्छ, ‘होस्टेलमै राखेर दैनिक विहानदेखि साँझसम्म बैठक राखेपछि बाहिर सम्पर्क हुनै पाइएन । पैसा मात्रै माग भनेपछि मासिक २२ हजार तलब पाइने हो भनेर आमाले ऋण मागेर एक लाख २० हजार पठाउनुभयो बैकबाट झिकेर डेकेन्द्र विकलाई दिएँ ।

परीक्षा दिन जान खोज्दा पनि जिन्दगी यतै बनिहाल्छ पढेर के गर्ने भनेर जानै दिएन । बुबा भारतमा मजदूरी गर्नुहुन्छ । म यता आएको सात महिना भो छ हजार पाएको छु त्योपनि खर्च भैसक्यो । पढाइ पनि छुट्यो । पैसा पठाइनस भनेर घरका मानिसले पनि तनाव दिन थालेपछि म घरबाटै टाढिएको छु । घर जान पनि लाज लागेको छ । नागरिकता र एसइइको मार्कसिट ग्लोबल कार्यालयले राखिदिएको छ के गरुँ ? लोभ देखाए झुटो बोल्न लगाए, म फसेँ ।’

राजापुरकी सुनिता चौलागाईलाई मनिषा विकले दुई जनालाई काम छ मासिक १८ हजार तलब पाइन्छ भनेपछि रेजिना चौलागाईसंगै टीकापुर आइन । काम कस्तो हो भनेर सबैलाई सोध्दा सबैले राम्रै हुन्छ भनेपछि तालिम लिएकी सुनिता बुझदै जाँदा ठग हो भन्ने थाहा पाएपनि अरु साथीले झैं एकलाख २० हजार फसाइसकेको बताउछन् ।

सुनिता भन्छिन, ‘पैसा फिर्ता माग्दा माग्दा इन्ट्री हान्छु पैसा आइहाल्छ भन्यो, मिडियामा समाचार आएपछि केही रुपियाको प्रोडक्ट थमाएर भागेका छन् ।

परीक्षा दिन कालिकोट पनि जान पाइन छुट्यो बुबा घुम्ति ब्यापारमा हुनुहुन्छ आमा बिरामी हुनुहुन्छ तर आमा ललिता चौलागाँईको नागरिक र मेरो एसइइको मार्कसिट राखेको छ पैसा र कागजात फिर्ता नपाए घरै जान सक्दिन ।’ दैलेखकी पुष्पा भण्डारी आफ्ना धेरै साथीहरुको मार्कसिट कार्यालयमा राखिदिएको र बस्नै समस्या गरेपछि भागेर घर आएको र प्रहरीमा उजुरी परेपछि मार्कसिट फिर्ता पाइने आशामा रहेको बताउछन् ।

टोपबहादुर, सुनिता र पुष्पा जस्तै टीकापुरमा ठगिने युवाहरु एक हजार जति छन् । प्रहरीले आठ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

ग्लोबलका सञ्चालक नुवाकोटका बसन्त पण्डितले केहिदिन अघि टीकापुरमा कार्यक्रम गरी आफूले थाइल्याण्ड, मलेसिया, हङकङ, पुगेर एमवे, हर्वो कम्पनीबाट सिकेको र नेपाल प्रत्येक्ष बिक्रीको कम्पनी स्थापना गरी दुई हजार दुई सय जनालाई रोजगारी दिएको बताएका थिए । जसमध्ये एक हजार टीकापुरमै रहेको देखिन्छ । पण्डितले प्रत्यक्ष बिक्रीबाट आएको मध्ये ४२ प्रतिशत मुनाफा विक्रेतालाई बाँडने भएकाले विना लगानी युवाले कमाउन सक्ने बताएका थिए तर हजार जति युवाको भविष्य र करोडौं रुपियाँ डुब्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार