३ जेष्ठ २०८१, बिहीबार

काँग्रेस सभापति धनगढीमा : चुनावी अवस्थाबारे जानकारी लिन व्यस्त



धनगढी/ चुनावी कार्यक्रममा सहभागी बन्ने क्रममा नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आज (बुधबार) धनगढी आइपुगेका छन् ।

सभापति देउवा भोली (१७ गते) देखि २० गतेसम्म गृह जिल्ला डडेल्धुरामा आयोजना हुने विभिन्न चुनावी सभा, कार्यक्रममा सहभागी बन्न आज दिउँसो काठमाडौंबाट धनगढी आइपुगेका हुन् ।

धनगढीस्थित निजी आवासमा रहेका सभापति देउवाले जिल्लामा रहेका काँग्रेसका केन्द्रीय सदस्य, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य, प्रदेश तथा जिल्ला, क्षेत्र तथा नगरका पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरु, तथा बुद्धिजीवीहरुसँग जिल्ला तथा प्रदेशमा चुनावी अवस्थाबारे जानकारी लिएका छन् ।

सभापति देउवाले काँग्रेस केन्द्रीय सदस्यहरु ईश्वरी न्यौपाने, रामजनम चौधरी र नृपबहादुर वड तथा सुदूरपश्चिम प्रदेश महामन्त्री नरनायरण शाह, जिल्ला सभापति नारायणदत्त भट्ट, उपसभापति खेम चौधरीसहितका पदाधिकारीहरुसँग प्रदेशमा पाँच दलीय गठबन्धनको अवस्थाबारे जानकारी लिएका छन् ।

सभापति देउवाको सचिवालयका अनुसार उनले प्राध्यापक डा. हेमराज पन्त, प्राध्यापक सुरेन्द्र चन्द, यादवप्रसाद जोशी, डा. राजेन्द्रवीर चन्द, धर्मराज भट्टसहित बुद्धिजीवीहरुसंग समेत चुनावी अवस्थाबारे जानकारी लिएका छन् ।

सभापति देउवासँगको भेटमा आफूले कैलालीमा पाँच दलीय गठबन्धनको अवस्थाबारे ब्रिफिङ गरेको प्रदेश महामन्त्री शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार