३ जेष्ठ २०८१, बिहीबार

भूकम्पीय पूर्व तयारी कृत्रिम घटना अभ्यास




धनगढी/ शहरी विपद तथा भूकम्पीय पूर्व तयारी योजनाअन्तर्गत मंगलबार धनगढीमा कृत्रिम घटना अभ्यास कार्यक्रम भएको छ ।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र शहरी विपद् पूर्व तयारी परियोजनाको संयुक्त आयोजनामा भूकम्पीय जोखिम र क्षति न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव मदनसिंह धामीले विपद् जोखिम न्यूनीकरणका लागि ऐन, नियममा आवश्यक सुधार गरिएको बताए । उनले वित्तीय व्यवस्थापनमा भने अझै सुधार गर्नुपर्ने आवश्यकता रहेको औल्याए ।
सचिव धामीले भूकम्पीय जोखिम न्युनिकरणमा कृत्रिम घटना अभ्यास महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव विष्णुदत्त अवस्थीले सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा रहेको उल्लेख गरे ।

उनले प्रकोप आएपछि छिटोछरितो उद्धार, राहत तथा समन्वयका लागि कार्यक्रम आयोजना गरिएको बताए । उनले कार्यक्रमबाट भूकम्पीय जोखिम तथा अन्य विपद्बाट हुने क्षति न्यूनीकरणमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गृह मन्त्रालयका पूर्व सचिव शंकर कोइराला, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डा. डिजन भट्टराई, संयुक्त राष्ट्र संघीय प्रदेश समन्वय सम्पर्क निकाय प्रमुख बैजन्ती गिरी सिंह लगायतले धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार