३ जेष्ठ २०८१, बिहीबार

बझाङमा जीप दुर्घटनामा सात जनाको मृत्यु , १७ जना जना घाइते




बझाङ / बझाङको मष्टा गाँउपालिकामा भएको जीप दुर्घटना परेर मृत्यु हुनेको संख्या सात पुगेको छ । १७ जना घाइते भएका छन् । बुधबार अपराह्न ४ बजे सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जीप मष्टा गाउँपालिका – १ तुफानडाडामा दुर्घटना भएको थियो ।

जीप दुर्घटनामा परि मृत्यु हुनेहरुमा मष्टा गाउँपालिका –२ का १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का , २८ वर्षीया वसन्ती धामी , १३ वर्षीय प्रचण्ड खड्का , ३८ वर्षीय बिरेन्द्र अधिकारी सात महिनाकी बालिका दिक्षिता कठायत र शुक्लाफाँटा नगरपालिका – ७ कन्चनपुरका ४२ वर्षीय झरेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अबस्थीले जानकारी दिए ।

सोही जीप दुर्घटनामा परेर १७ जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भिर रहेको छ । घाइते हुनेमा मष्टा गाउँपालिका– २ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीय अम्बिका सिंह, ५० वर्षीय सिन्किदेवी भण्डारी, सोही वडा २५ वर्षीय कमला कठायत, २१ वर्षीय निन्दा ओखेडा, ७५ वर्षीय बिरबहादुर खड्का, मष्टा साडा– १ बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, ७५ वर्षीय बिरबहादुर खड्का, ४ बर्षिय सिम्रन सिंह, २२ वर्षीय हेमन्ती सिंह रहेको समेत उनले बताए । ५ जना गम्भिर घाइते भएकाहरुलाई थप उपचारका लागि धनगडी पठाइएको छ भने बाँकी १२ जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किरहेका यात्रु चढेको जीप दुर्घटनामा परेका प्रहरीले जनाएको छ । जीपमा जम्मा २४ जना जना सवार सवार थिए ।

क्षमता भन्दा दोब्बर संख्यामा यात्रु बोकेर गएपछि जीप अनियन्त्रित भइ भिरमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरी, ससस्त्र प्रहरी नेपाली सेना र स्थानीयवासीको समन्वयमा घटनास्थलबाट घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल सिमखेतमा ल्याएका थिए । जीप सडकबाट करिब पाँच सय मिटर तल खसेर भिरमा अड्किएको छ । भीरमा दुर्घटना भएकाले उद्धारमा समेत कठिनाइ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार